प्रचण्डले गरे कर्णालीको अविश्वास प्रस्ताव राेक्न आग्रह, ओलीले ठोस जवाफ दिएनन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन्।

कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न प्रचण्डले उनीहरुलाई भेट् गरेका हुन्।

मुख्यमन्त्री समेत रहेका, पूर्वमाओवादी पृष्ठभूमिका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध आफ्नै पूर्वघटकका तीनजना सांसदसहित नेकपाका १८ जना सांसदले आइतबार संसदीय दलमा अविश्वासका प्रस्ताव दर्ता गराएका थिए।

त्यसको भोलिपल्ट सोमबार अध्यक्ष प्रचण्डले त्यसलाई रोक्नु दाैडधुप गरेका हुन्। 

‘अविश्वासको प्रस्ताव दर्ता हुने, मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश जाँदैन। राजनीतिक समस्या तत्कालै समाधान नगरे यसको परिणाम व्यापक हुन सक्छ’, प्रचण्डको आग्रह उदृत गर्दै बैठक स्रोतले भन्यो।

बिहान खुमलटारमा भएको भेटमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि यस्तै भाषामा आग्रह गरेका थिए।

नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जवाफ दिए। 

‘हामीले उहाँसँग पनि भेट् गरेका थियाैं। उहाँले आइतबार नै कर्णाली प्रदेशका नेता र सांसदहरुलाई फोन गरेर निर्देशन दिसकेकाे बताउनु भएकाे छ’,  प्रचण्ड निकट एक नेताले भने।

प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले बतायो।

‘उहाँले नेकपा कर्णालीभित्र उत्पन्न राजनीतिक समस्या तत्काल समाधानका लागि हस्तक्षप गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नु भएकाे थियाे। तर उहाँले ठोस जवाफ भने दिनु भएन’, ती नेताले भने।

यद्यपी ओली नेकपा कर्णालीमा विकसित घटनामा आफ्नो कुनै हात नरहेको प्रतिक्रिया दिएकाे उनले बताए। ती नेताले भने,‘यो प्रकरणमा मेरो कुनै हात छैन। प्रदेशकै नेताहरुलाई हस्तक्षप गरेको छैन।’

आइतबार नेकपाकै १८ सांसदले मुख्यमन्त्रीशाही विरुद्ध अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा बुझाएका छन्। ४० सदस्यीय प्रदेशसभामा नेकपासँग ३३ सांसद छन्। ३३ मध्ये पूर्व माओवादीका १३, ओली खेमाका १२ र नेता नेपाल खेमाका आठ सांसद छन्। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका आठ, नेता नेपाल तर्फका सात सांसद र पूर्व माओवादीका तीन सांसद छन्।

मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वासको पत्रमाथि छलफल गर्न नेकपा कर्णालीले मगंलबार २ बजे संसदीय दलको बैठक बोलाएको छ। 

प्रकाशित मिति: : 2020-10-12 14:06:00

प्रतिकृया दिनुहोस्