देउवाले बुढीगण्डकीबाट अर्बौं कमिसन लिएको भए प्रमाणित गरेर देखाउ: कांग्रेस

बुढीगण्डकी जलविद्युत् परियोजनाबारे पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति कांग्रेसले अनुसन्धानको माग गरेको छ। 

भट्टराईले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतले अर्बौं कमिसन लिएको भन्दै सामाजिक सञ्जाल लगाएको आरोप लगाएपछि प्रमाणसहित पुष्टि गर्न कांग्रेसले चुनौती दिएको हो।

भट्टराईले केही दिन पहिले गोरखामा भएको समाजवादी पार्टीको कार्यक्रममा बुढीगण्डकी जलविद्युत् परियोजना प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले अर्बौं रकम कमिसन खाएर अलपत्र पारेको आरोप लगाएका थिए। उनले आफूसँग त्यसको प्रमाणसमेत रहेको दाबी गरेका थिए।

सभापति देउवामाथि भट्टराईले लगाएको उक्त आरोपको खण्डन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमाकांग्रेसका सभापतिको संलग्नता रहेको भनेर पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

नेकपा अध्यक्ष ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले बुढिगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको निर्णयमा कांग्रेसले विरोध गर्दै आएको उनले बताएका छन्।

‘कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनु भएको नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल देश आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा। स्वर्णीम वाग्लेको संयोजकत्वमा एक विशेष समिति गठन गरेको थियो,’ प्रवक्ता शर्माको विज्ञप्तिमा लेखिएको छ।

भट्टराईले बुढिगण्डकी जलविद्युत् परियोजना निर्माण गर्न पहल गर्नुभन्दा पनि सस्तो टिप्पणी गरेर जनतालाई भ्रममा पारेको कांग्रेसको आरोप छ। 

‘डा बाबुराम भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिक देखिने भ्रममा पर्नु भएको छ। हलुका टिप्पणीहरूलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन। तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ,’ विज्ञप्तिमा प्रवक्ता शर्माले भनेका छन्।

प्रकाशित मिति: : 2020-10-11 10:37:00

प्रतिकृया दिनुहोस्