घुमघामसँगै कोभिड-१९ को सचेतना कार्यक्रम
सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रूपमा घोषणा गरेसँगै हामी पर्यटन ब्यवसायीहरू निकै उत्साहित थियौ। गत साल सन् २०१९ को सरकारी तथ्याङ्क अनुसार १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेकोले पनि निकै सकारात्मक रूपमा पर्यटक आउनेमा हामी आवादी थियौं। विश्वभर नयाँ साल धुमधामले मनाउँदा, नेपालमा पनि सधै झै न्यानो स्वागत गरियो। नया वर्ष सुरु भयो, विस्तारै अज्ञात भाइरस चीनहुँदै युरोप तथा अमेरिका हुँदै विश्वभर फैलिरको समाचार सुनिन थाल्यो।
नेपाली पर्यटन क्षेत्रमा वर्षमा २ वटा मुख्य पर्यटकीय सिजन मानिन्छ - अउटम्न र सप्रिङ सिजन। विस्तारै स्प्रिङ सिजन सुरू हुँदै थियो । कतिपय पर्यटनकर्मी साथीले २,३ वटा पर्यटकका ग्रुप सञ्चालन गर्न भ्याइसकेका पनि थिए। अरूले बुकिङ भएको पर्यटकको अराइभल, होटल, ट्रेकिङ प्याकेज, गाईड , पोर्टरलगाएत सबै व्यवस्थापानको चासो पाँजो मिलाउन ब्यस्त थिए।
मार्चको दोस्रो साता कोरोना भाइरसले महामारीको रूप लिएको भन्दै विभिन्न देशमा बन्दाबन्दी लगाउन सुरू गरे। नेपाल सरकारले पनि सम्भावित माहामारी रोकथाम र नियन्त्रणको लागि मार्च २४ बाट देशैभरी लकडाउन सुरू गर्यो । सुरूमा एक सातका लागि लगाएको लकडाउन, प्रकोप बढ्दै गएसँगै हप्ता- महिना गरि थपिदै गयो। यो सँगै अनिश्चित बनेको नेपालको पर्यटकीय क्षेत्रका लागि सिजनको मुखमै विदेशी पर्यटकले धमाधम बुकिङ रद्द गर्न थाले। कतिपयले अर्को सिजनलाई भ्रमण मिति सारे।
यसरी स्प्रिङ सिजन पुरै लकडाउनमा बित्यो। ट्रेकिङ-ट्राभल कम्पनीसहित सयौं पर्यटन व्यवसायसँग जोडिएको यातायात, हवाइ सेवा, होटल, रेस्टुरेण्ट, ट्रेकिङ पसललगाएत सम्पूर्ण व्यापार ब्यवासाय ठप्प भयो। त्यो सँगै हजारौ पर्यटन मजदुर बेरोजगार भए।
अन्य पर्यटनकर्मीझै कोरोना महामारीको कारण मेरो व्यवसाय पनि चौपट भयो । म प्रायः हिमाली जिल्ला डोल्पामा पर्यटक घुमाउने, ट्रेकिङ व्यवस्थापन र सञ्चालन गर्ने गर्छु। डोल्पा तिर पर्यटकीय मौसम अलि पछाडि सुरू हुन्छ , मे महिनाबाट मात्र यहाँको पर्यटकीय सिजन सुरू हुने भएकोले, हामीले कुनै ट्रिप सुरू गर्न पाएनौं। तर ट्रिपको लागि सबै व्यवस्थापन जस्तै फ्लाइट बुकिङ, होटल, खाद्यान्य, ट्रिपलाई चाहिने सम्पूर्ण सामाग्रीसहित जनशक्तिको भने पूर्ण तयारी अवस्थामा राखेका थिएँ।
लकडाउन यति लामो समय लम्बिएला भन्ने कल्पना गरेको थिएन। कोभिड-१९ संक्रमणबाट जोगिन घरमै परिवारसँग लामो समय बिताएँ। करिब ३ महिनापछि लकडाउन केही सहज भएपछि केही आत्मीय साथीभाइ सित कहिलेकाहीँ कफी भेटघाट हुन्थ्यो। मास्क, स्यानिटाइजर र सामाजिक दुरी पालना गरेर विकेन्डतिर उपत्यका नजिकै ठाउँतिर हाइकिङमा निस्कियौं।
जगडौल, फूलचोकि तिर घुमियो। कुनै हप्ता काठामडौं-जर्सिङपौवा- नगरकोट तिर हाईकिङ गरियो भने कहिले चन्द्रागिरी हात्तिविन तिर। जसोतसो ६ महिनाजति सरकारले लगाएको लकडाउन र निषेधाज्ञा पालना गरेर बिताइयो।
विश्वभर कोरोना भाइरसको संक्रमण संख्या बढिरहेको समाचार तिब्र भयो, नेपालमा पनि बढ्दै गयो। लामो समयसम्म जनजीवन अस्तव्यस्त भयो, आर्थिक गतिविधि पनि रोकियो। विस्तारै विदेशतिर लकडाउन खकुलो पार्दै आर्थिक गतिविधि पनि सुचारू गर्न थाले। नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनको मापडण्डअनुसार हल्का खकुलो पार्दै लग्यो।
अक्टोवर १७ देखि ट्रेकिङ तथा ट्राभल सेवा खोल्ने र हवाई सेवा, लामो तथा छोटो दुरीको यातायात, समाजिक दूरी कायम गरी ब्यापार व्यवासाय, जोर विजोर प्रणालिमा यातायात तथा मोटरसाइकल चलाउन अनुमति दियो।
घुमघामसँगै सचेतना कार्यक्रम
यहीँ सहजको फाइदा उठाउँदै असोजको दोसो साता हामी केही पर्यटनकर्मीसहितको टोली पर्यटकीय क्षेत्र हेलम्बुको भ्रमण जाने योजना बन्यो।
भ्रमण टोलीमा सोसियल टुरका राज ज्ञवाली, थामसेर्कुका मिङ्मा शेर्पा, हिमालय क्वेस्टका अमृत आले, रेस्पोन्सिवल ट्रेकका छेवाङ नोर्वु लामा र ग्याल्जेन नोर्वु लामासहित हेलम्बु भ्रमण गर्ने निधो भयो।
भ्रमणको मुख्य उद्धेश्य लामो समय कोरोनाबाट वाक्क भएको जीवनबाट केही समय स्वच्छ वातावारणमा ट्रेक गरी बिताउने थियो । सँगै स्थानीय मानिससँग कोरोना सम्बन्धि अन्तरक्रिया र जनचेतना कार्यक्रम पनि साटासाट गर्नुथियो। त्यसैले यो यात्रा खालि घुमघाम मात्रै नभएर हेलम्बु क्षेत्रको स्थलगत अध्ययन भ्रमण पनि थियो। हाम्रो यात्राको भ्रमण रूट थियो-चिसापानी-ठाडेपाती, कुतुमसाङ, मेलेम्ची घ्याङ, तार्केघ्याङ शेर्मानथाङहुँदै मेलेम्चीबाट काठमाडौं।
छिमेकी जिल्ला सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र जिल्लामा सांस्कृतिक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । काठमाडौंदेखि नजिकको पर्यटकीय गन्त्वय ६-७ दिनको हेलम्बु ट्रेकिङको रुपमा विदेशीमाझ लोकप्रिय छ । ह्यल्मो समुदायको वाहुल्य यो क्षेत्र स्थानीय संस्कृति, प्राकृतिक पहाडी भुवनोट, वन जंगल, चराचुरूङगी र वस्ती लोभलाग्दो छ। त्यसको साथै दोर्जे लाक्पा, जुगल, गौरिशंकरसहित दर्जनौं हिमालको मनरोम दृश्यको दृश्वालोकन गर्न सकिन्छ। हामी ६ जना मध्ये ३ जना ( राज दाइ, मिङ्मा शेर्पा र अमृत आले ) ३ दिन अगाडि नै यात्रामा निस्किएका थिए।
हामी ३ जनाको टोली भने चौथो दिन गाडीमा सिधै मेलेम्ची घ्याङ्मा अन्य ३ जनाको टोलीसँग भेट्ने योजना थियो। तर नाकोटे पुग्नु अगाडि पहिरोले बाटो अवरुद्ध करिब ३ घण्टाको पैदल यात्रामा नाकोटे बास बस्न पुगियो। कोरोना महामारीको डरले बाहिरबाट गएका पाहुनालाई नाकोटेका गाउँलेले हामीलाई सहजै स्वीकार्न हिच्किच्याए। त्यो स्वभाविकै थियो। किनकि हाम्रो बासको व्यवस्था मेलेम्ची घ्याङ भएकाले हामीले पहिलै सम्पर्क गरेको थिएनौं।
धन्न प्रदेश सांसद निमा ह्योल्मो दाइको सहजिकरणमा उहाँको आन्टीको होम्स्टेमा बास पायौं। गाउँमा घेवा धार्मिक कार्यक्रममा सहभागी हुने मौका जुर्यो र बेलुकीको खाना गुम्बामा भयो।
ह्योल्मो समुदायको बासोबास गरेको ४०-५० घर नाकोटे रमाइलो गाउँ रहेछ । पाखावारी, मेलेम्ची उपत्यका, पर परसम्म देखिने गाउँ वस्तीका दृश्यहरुले आनन्द दिलायो।
बिहानीपख हाम्रो अन्य मित्रहरू मेलेम्ची घ्याङबाट यही नाकोटेमा भेट भयो। टिवेटियन चिया, रोटी र आलुको ब्रेकफास्ट खाएर यात्रा अगाडी बढ्यो। हाम्रो यात्रा जंगलको उकालो बाटोहुँदै अगाडि बढ्यो, बाटाभरी जुकाले आक्रमण गर्यो। आराम गर्दै, जुका टिप्दै विस्तारै काठे पुल झरना नदिहुँदै उकालो बाटो काटियो। २ घण्टा पैदलमार्ग हिडेर पर्यटकीय ठाउँ तार्केघ्याङ पुगियो। निकै थकाइ पनि लागेको थियो।
यहाँ स्थानीयसँग कोभिड १९ को बारेमा छोटो अन्तरक्रिया गरियो। कोरोनासँग कसरी बच्ने, यसको संक्रमण फैलिनबाट रोक्ने उपाय र पाहुनालाई कोरोनाको बेला कसरी सामाजिक दुरी कायम गर्दै स्वागत सत्कार गर्ने भन्नेबारे करिब २ घण्टा सचेतना कार्यक्रम गरियो।
दिउँसोको स्वादिष्ट खाना दालभात र स्पेशल अचार (नाम भुलियो)- अमिलो तर सार्है मिठो थियो।
त्यसपछि तेर्सो बाटो, करिब २.५ घण्टाको आरामदायी पैदल यात्रामा शेर्मान्थाङ पुगियो । हाम्रो वसाइ याङ्ग्रिमा इकोलजमा व्यवस्था गरेको थियो।
बिहानको ब्रेकफास्ट खाएर गाउँ सेरोफेरो हुँदै गुरू पद्मसम्भवको प्रतिमा, डाडाँतिरको घुमघाम गरियो। दिउँसोको खाना निमा दाइको मामामा खाइयो। ६०-६५ उमेरका मामाजी वडा रसिला रहेछन्। युवा उमेरमा चिसापानी हुँदै काठमाडौं करिव ९ घण्टामा पुग्ने कहानी सुनेर हामी सबै दंग पर्यौ। पहिलाका मान्छेहरु कति बलिया र फूर्तिला? गाउँघरको स्वच्छ वातावरण र अर्गानिक खानपिनले स्वस्थ हुन्थे। युवा उमेरमै कालापहाड, हिमाञ्चल प्रदेशसम्म टाढा टाढा घुमेको कथा सुनाउँदा हामी सबै मन्त्रमुग्ध भएर सुनिरह्यौ । गफ पनि रमाइलो, खाना मिठो, क्या राम्रो आतिथ्य!
दिउँसो १ बजेतिर शेरमान्थाङको समाज घरमा लज सञ्चालक, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्वास्थ्य स्वंयम सेवी र गाउँलेहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भयो।
कोभिड सम्वन्धि जानकारी, संक्रमणबाट रोकथाम र नियण्त्रणका उपाय र मापडण्ड बारेमा राज ज्ञवाली दाइले सविस्तार जानकारी गराउनुभयो। त्यस्तै मिङमाजीले होटलको सरसफाइ, खानपिन र पाहुनाको अतिथ्यबारे संक्षिप्त जानाकारी दिए भने अमृत आलेले कार्यक्रम सञ्चालनमा संयोजनको भूमिका गरेका थिए। स्थानीय सहभागीसँग अन्तरक्रिया, छलफल भयो, भलाकुसारी कार्यक्रम अत्यन्तै फलदायी भयो, गाउँलेहरू अत्यन्तै उत्साहित भए।
बिहान मौसम सफा थियो। हेलम्बुको सुन्दर दृश्य अवलोकन गर्दै रमायौ, फोटाहरू खिचियो। लामो समय लकडाउनमा काठमाडौंको कोठाभित्र सिमित जीवनले यो यात्रामा नयाँ ताजागी बनाइदियो।
हामीले यो छोटो भ्रमणमा सिकेको पाठ मुलुकका अन्य पर्यटकीय गन्तब्यमा पनि कोरोना सचेतना कार्यक्रमको आवश्यकता देखियो। स्थानीय निकायसँग समन्वय गरेर पर्यटन संघ संस्था, सरकारी निकाय र विज्ञ टोलीले अविलम्ब मुलुकको अन्य पर्यटकीय गन्तब्यमा सचेतना कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न हुँदैन। पर्यटकीय गन्तब्यहरू पर्यटकको स्वागतको लागि तयार राख्नुपर्छ।
कोभिड-१९ को महामारीले दिक्क भएका विश्वभरिका पर्यटक यात्रा सुचारू गर्न चाहन्छन्। चाहे फुर्सतमा छुट्टि मनाउन होस्, या व्यवसायको र महत्त्वपूर्ण मानवीय कारणहरूको लागि, यात्रा मानव जिवनको महत्वपूर्ण गतिविधिनै हो।
विश्व पर्यटन संगठनका अनुसार कुनै पनि यात्रा गर्दा आफ्नो र अरूको हेरचाह गर्नु उत्तिकै दायित्व हुन्छ। कुनै पनि ठाउँ घुम्न जानु अगाडि पुरा तयारी गर्ने, गन्तब्यको पुरा जानकारी लिने, जाने गन्तव्यमा समन्वय गर्ने र कोभिड-१९ को स्वास्थ्य निर्देशिका ईमान्दारसाथ पालना गरेर जिम्मेवार भई यात्रा गर्नुपर्छ। आफू पनि सुरक्षित हुने र अरूलाई पनि संक्रमण हुनबाट बचाउने।
यात्राको क्रममा सुरक्षित रहन उत्तम तरिका भनेको विश्व स्वास्थ्य संगठनले जारी गरेको मार्गनिर्देशनहरूलाई राम्ररी पालना गर्नु नै हो। यात्राको क्रममा मुल मन्त्र सधै याद गर्नुपर्छ - मास्क लगाउने, नियमित राम्ररी आफ्ना हातखुट्टा धुने, हात नमिलाउने, अनुहार छुने प्रयास नगर्ने र भीड ठाउँहरूबाट टाढा रहनु हो। जहाँ सम्भव छ, आफू र अरूबीच कम्तिमा १ मिटरको दुरी कायम राख्ने राख्ने।
ब्रेकफास्ट पश्चात फर्किँदा भण्डारी ट्राउट फार्ममा लञ्च गरेर काठमाडौं फर्कियौं।
अन्तमा, हाम्रो यात्रामा सहयोग गर्ने निमा (प्रदेश सांसद) दाइ, याङ्ग्रिमा इकोलजका गोपाल लामा र खान्दो लामा, निमा लामा सर, प्र.अ. पुर्णू गौतम सर , साथै ट्रेकिङ ऐजेन्सीज एसोसिएसन नेपाल (टान) का अध्यक्ष खुम सुवेदी र महासचिव सरिता लामालाई धेरै धेरै धन्यवाद ।
हेलम्बुवासीको मिठो मुस्कान, न्यानो माया र गज्जबको अतिथ्यले हाम्रो यात्रा थप रोमाञ्चक बनायो। झल्झली यादहरू अझै आँखामा नाचिरहेको छ।
- लेखक एक्स्पलोर डोल्पो ट्रेकिङका प्रबन्ध निर्देशक हुन्।