अमेरिकाका महावाणिज्यदूत र वाणिज्यदूत हेरफेर

अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपालका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ। 

असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिकालगायत विश्वका विभिन्न मुलुकका महावाणिज्यदूत तथा वाणिज्यदूत हेरफेर गरेको हो।

अमेरिकाका विभिन्न राज्यमा महावाणिज्यदूत तथा वाणिज्यदूतको रुपमा काम गर्दै आएकाहरुको कार्यकाल अर्को चार वर्ष थपिएको छ। 

अमेरिकाको मेरिल्याण्ड राज्यमा अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत प्रेमराजा महत, इलोनोइस राज्यका महावाणिज्यदूत मरभिन ए ब्रसटिन, हवाईमा कार्यरत अवैतनिक वाणिज्यदूत मेरी सी क्यारोल, ओहायो राज्यमा कार्यरत अवैतनिक महावाणिज्यदूत डा. विलियम सि क्यासेलको कार्यकाल थप ४ वर्ष थपिएको छ।

यसैगरी वाशिंगटनको सियाटलमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। अमेरिकामा कार्यरत अन्य अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन। उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ।

अवैतनिक वाणिज्यदूत सम्बन्धी (पाँचौ संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्था बमोजिम उक्त निर्णय मन्त्रिपरिषदले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-10-10 06:22:00

प्रतिकृया दिनुहोस्