कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ। 

श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि  काठमाडौंको ओम अस्पताल भर्ना भएका उनको शुक्रबार दिउँसो साढे एक बजे निधन भएको हो।

१९७८ को माघ १५ मा जन्मिएका उनी स्वर्गीय कृष्णप्रसाद भट्टराई सभापति हुँदा विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका थिए। त्यसअघि २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए।

प्रसाईं पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित भएका थिए। विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाईं निर्वासनबाट फर्किएका हुन्।

०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वार बनेपनि  त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग पराजित भएका थिए।

पछिल्लो समय भने कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेको भन्दै उनले पार्टी परित्या गरेका थिए 

प्रसाईंकी पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन्।

पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले प्रसाईंले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यता पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले लेखेका छन्,‘अलग्गै स्वभाव,विचार र शैलिले परिचीत उहाँ जमानाको क्रान्तिकारी,वीपी कोइरालाप्रती निस्ठावान अनि किसुनजिको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो। शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा।’

यस्तै राप्रपाका अध्यक्ष कमल थापालेपनि दुःख व्यक्त गरेका छन्।

‘बरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रवादी नेता खनुपरूदे (रामबाबु) प्रसाईको निधन भएकोमा दुःख लागेको छ। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु। उहाँको निधनबाट देशले एक सिद्धान्तनिष्ठ र असल व्यक्ति गुमाएको छ,’ उनले लेखेका छन्।

प्रकाशित मिति: : 2020-10-09 21:13:04

प्रतिकृया दिनुहोस्