विमानस्थल अध्यागमनका कर्मचारीकै मिलोमतोमा मौलाउन थाल्यो मानव तस्करी !

कोरोनाको कहरसँगै बन्द भएको अन्तराष्ट्रिय उडान खुलेसँगै विमानस्थलबाट हुने मानव तस्करी मौलाउन थालेको छ। 

विमानस्थल अध्यागमनका कर्मचारीले बिचौलीयाको मिलोमतोमा खाडी मुलुकमा भिजिट भिसामा पठाउन थालेको तथ्य खुलेको हाे। 

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३ जना दुबई जान लागेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि याे घटना बाहिर आएको हो।

भिजिट भिसामा दुबई जान हिँडेका उनीहरुलाई विमानस्थल अध्यागमनले ‘स्टाम्प’ लगाएर पठाएको थियो। 

अध्यागमन पास भइसकेको अवस्थामा शंका लागेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ। गरेकाे थियाे। साेधपुछकै क्रममा साथमा डलर नभएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। 

भिजिट भिसामा यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया जान पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी र गन्तव्य देशमा बस्ने ठाउँको पनि व्यवस्था गरेको कागजात पेश गर्नुपर्छ। यी कागजात नभए अध्यागमनमा समस्या पर्न सक्छ।  

यस्तै एक हजार अमेरिकी डलर बराबर रकम पनि आवश्यक पर्छ।

तर, बुधबार फर्काइएका ३ जनासँग हजार डलर त के एक सय डलर पनि थिएन। 

विदेशमा रहेका आफन्त वा साथमा लान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात वा गन्तव्य देशमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात  र उ विदेशमा रहेको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्छ।

ट्राभल एजेन्सीमार्फत भ्रमणमा जान लागेको हो भने ट्राभल एजेन्सीको टूर प्याकेजमा लगिएको भनी लेखिएको पत्र र स्वःघोषणा पनि आवश्यक पर्छ। तर, उनीहरुसँग केही थिएन। 

यो घटना त एक उदारण मात्र हो। 

विमानस्थल स्रोतकाअनुसार खाडी मुलुकको उडान खुलेसँगै अहिले सेटिङ मार्फत दुबई लगायत अन्य खाडी मुलुकमा पठाउने बिचौलीयाहरु बढ्न थालेका छन्। 

‘सरकारले खाडी मुलुकमा भिजिट भिसामा जानेलाई कडाइ गरेको छ। घुम्नै जानेहरुलाई अध्यागमनले कडाई गर्ने गरेको छ। तर, बिचौलीयाको सेटिङ मार्फत रोजगारीमा जानेहरुलाई भिजिट भिसामा पठाउने गरेको छ,’ स्रोतले बिएल नेपाली सेवालाई भन्यो।

अन्तराष्ट्रिय उडान सुरु भएसँगै अध्यागमनका अधिकारीको मिलोमतोमा बिचौलीयाले दैनिक भिजिट भिसामा मानिस पठाउने गरेको स्रोतको दावी छ। 

‘भिजिट भिसामा दैनिक मानिस जाने गरेका छन्,’ नाम नखुलाउने शर्तमा विमानस्थलमा कार्यरत एक अधिकारीले भने, ‘सेटिङ सुरु भयो, अहिले दिनैपिच्छे भिजिट भिसामा अध्यागमनका कर्मचारीको मिलोमतोमा पठाइन्छ।’ 

विमानस्थलबाट दैनिक भिजिट भिसामा अध्यागमन कर्मचारीकै मिलोमतोमा बिचौलीयाले रोजगारीमा खाडी मुलुकमा मानिस पठाउदै गरेकाे घटना आइरहेकाे बेला अध्यागमन विभागका महानिर्देशक रमेश कुमार केसीले भने भिजिट भिसामा पहिलाको भन्दा कडाई गरेको दावी गरे।

‘भिजिट भिसामा बिदेश जान नपाउने भन्ने हैन। तर, केही प्रक्रियाहरु छन्। ती पुरा गरेर हामीले पठाउने गरेका छौं,’ महानिर्देशक केसीले भने। 

प्रकाशित मिति: : 2020-10-07 19:47:17

प्रतिकृया दिनुहोस्