नेकपा सचिवालय बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। बैठक केही बेरअघि प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको हो।

सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकतका बाँकी काम लगायतका पूर्ववत् एजेण्डामा छलफल हुने बताइएको छ। असोज ४ गतेको सचिवालयको बैठकले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा छलफल भएको थियो।

बैठकले मापदण्ड टुंग्याउने जिम्मेवारी दुई अध्यक्षलाई दिए पनि यस विषयमा दुई अध्यक्ष टुंगोमा पुग्न सकेका छैनन्। त्यस्तै असोज ६ गतेको बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउने गरी १० दिनभित्र एकताका प्रस्ताव ल्याउने जिम्मेवारी दुई अध्यक्षसहित महासचिवलाई दिएको थियो।

आजको बैठकमा रिक्त रहेको मन्त्रालयका लागि नयाँ मन्त्री बनाउने विषयमा छलफल हुन सक्ने नेताहरु बताउँछन्।

हाल अर्थ, सूचना तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय रिक्त रहेको छ। ती मन्त्रालयहरुमा नेताहरु विष्णु पौडेल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई लैजाने एकखालको सहमति भएको बताइन्छ। तर कसलाई कुन मन्त्रालय दिने कुरा टुङ्गो लागेको छैन।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रिक्त रहेको ३ मन्त्रालयमा मन्त्रीहरु टुंग्याउने विषयमा सहमति नजिक पुगेका छन्। आजको बैठकले त्यसबारे टुंगो लगाउन सक्ने नेताहरु बताउँछन्।

प्रकाशित मिति: : 2020-10-06 16:59:56

प्रतिकृया दिनुहोस्