अवरोधकाबीच प्रदेश ५ को प्रदेशसभा बैठक जारी, कांग्रेसद्वारा कुर्सी तोडफोड

 राजधानी तोक्ने विषयमा प्रदेश पाँचको प्रदेशसभा बैठकमा हंगामा भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच बैठक अघि बढाएपछि आक्रोशित बनेका कांग्रेसका सा‌ंसदले कुर्सी तोडफोड गरेका छन्। कांग्रेस सांसदले प्रदेशभाका कुर्सी र टेबल तोडफोड गरेका हुन्। कांग्रेस सांसदहरुले नाराबाजी जारी राखे पनि बैठक चलिरहेको छ। 

सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए।

सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

कांग्रेसका सांसदहरूको नाराबाजी गरेपछि सभामुख पूर्ण घर्तीले कांग्रेसका सांसद्हरूलाई बस्न आग्रह गरेका थिए। उनले बोल्न चाहे समय उपलब्ध गराउने बताएका थिए। तर, कांग्रेसका सांसदले निरन्तर विरोध गरेपछि सभामुखले बैठक अघि बढाए।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए। नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ।

सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्।

उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन्।

अहिले सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।

कांग्रेसको विरोधका बाबजुत सत्तापक्षले प्रदेशको राजधानी भालुवाङ तोक्ने प्रस्ताव पास गराउने रणनीति अनुसार संसद अघि बढाएको छ।

आफूहरूसँग कुनै छलफल नै नगरी सत्तापक्षले राजधानीको विषयमा प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध जनाएको छ।

प्रकाशित मिति: : 2020-10-05 15:53:50

प्रतिकृया दिनुहोस्