बुटवलमा जारी आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता: नेविसंघ

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध जनाएको छ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता भएको टिप्पणी गरेका छन्। 

‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो,’ उनले भने।

उनले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा बुटवलबाट पक्राउ परेका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेललगायतलाई विनाशर्त रिहा गर्न पनि माग गरेका छन्।

आइतबार साँझ काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा चौराहा नजिक मुख्यमन्त्री सवार र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ।

सो घटनामा संलग्न भएको भन्दै प्रहरीले नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, विष्णु पोखरेल, ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रिय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डे लगायतलाई पक्राउ गरेको छ। 

प्रकाशित मिति: : 2020-10-05 09:50:12

प्रतिकृया दिनुहोस्