दाङमा राजधानी राख्ने निर्णयमाथि पुनर्विचार गर्न नेकपा महासचिवको माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङको भालुवाङ राजधानी र लुम्बिनी नाम राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष माग गरेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा कोरोना भाइरसको जोखिम उच्च रहेकै बेला आइतबार दिउँसो प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र जनार्दश शर्माबीच भेटवार्ता भएको थियो। भेटमा महासचिव पौडेलले ओली र प्रचण्डलाई यस्तो प्रस्ताव राखेका हुन्। 

‘महासचिवज्यूले प्रदेश ५ को राजधानी बुटवलमै राखिनुपर्ने बताउँदै दाङमा राजधानी राख्ने निर्णय पुनर्विचार हुनुपर्ने माग गर्नु भएको थियो। तर मुख्यमन्त्री र जनार्दनजीले दाङमै राजधानी राखिने अडान राख्नुभयो,’ भेटमा सहभागी एक नेताले भने।

प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती किनार क्षेत्र भालुवाङ–देउखुरीमा राख्ने प्रस्ताव पारित गरेको थियो।

शुक्रबार नै सरकारको प्रस्ताव प्रदेशसभामा छलफलका लागि पेस भएको छ। सोमबारदेखि चल्ने प्रदेशसभाको छलफलमा पनि आफ्ना भनाइ सभ्य भाषामा राख्न र मतदान प्रक्रियामा सहभागी हुँदा सरकारको निर्णयको पक्षमा गर्न मुख्यमन्त्री एवं संसदीय दलका नेता पोखरेलले निर्देशन दिएका छन्।  

नेकपा उच्च स्रोतका अनुसार नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्षद्वयसँगै वामदेव गौतम पनि दाङकै पक्षमा उभिएका छन्। 

सचिवालयका बाँकी सदस्य रामबहादुर थापा बादल र ईश्वर पोखरेलले पनि साथ नदिएपछि बुटवललाई राजधानी बनाउने विषयमा सचिवालयभित्र  महासचिव विष्णु पौडेल एक्लै परेका छन्।  

यसअघि महासचिव पौडेललाई प्रदेशसभाका १४ जना नेकपा सांसदहरुले बुटवलमै प्रदेशको राजधानी रहनुपर्ने भन्दै साथ दिएका थिए। 

तर, प्रदेश ५ संसदीय दलको शनिबार बसेको बैठकमा १४ सांसदहरुले असन्तुष्टिसहित नोट अफ डिसेन्ट लेखेपनि पार्टी निर्णयअनुसार मदतान गर्न सहमत भएको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-10-04 18:58:24

प्रतिकृया दिनुहोस्