राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न बाेलाइएकाे बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको हो। 

हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न बैठक बाेलाइएकाे थियाे। तर एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले जानकारी दिए।

उनका अनुसार अब बैठक आइतबार बस्ने छ। तर समय भने निर्धारण भइनसकेको जुगलले जानकारी दिए।

सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो।

त्यसैगरी मन्त्रिपरिषद विस्तारको सम्वन्धमा पनि दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन। 

यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो। त्यसैगरी नेकपामा सांगठनिक एकताको विषयमा पनि छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2020-10-03 11:51:13

प्रतिकृया दिनुहोस्