काेराेना संक्रमित ट्रम्पलाई ज्वराे आएपछि अस्पताल भर्ना

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै ट्रम्पलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हाे।

ह्वाइट हाउसले दिएकाे जानकारी अनुसार ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको छ। 

उनले शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको बताएका थिए। 

ट्रम्पलाई ज्वरो आएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट हाउसको भनाई छ। 

ह्वाइट हाउसले ट्रम्पले थकान महसुस गरेको भए पनि उनको आत्मबल राम्रो रहेको बताएको छ।

कोरोना भाइरस संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ। यसअघि उनले आफ्ना एक निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए।

उनका ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षण गराएका थिए।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयरफोर्स वानमा उनीसँगै थिइन्। मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्वीर सार्वजनिक भएको थियो।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा अझ नजिक देखिएकी थिइन्। बिहीबार राति ट्रम्पले ट्विटरमा हिक्सलाई कोरोना भएको उल्लेख गरेका थिए। साेही दिन फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए।

अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ। चुनावको मुखैमा आएर ट्रम्पमा संक्रमण पुष्टि भएको हो। क्वारेन्टाइनले दोस्रो राष्ट्रपतीय बहसलाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। निर्वाचनअघि राष्ट्रपतिका उम्मेदवारले डिबेटमा भाग लिने परम्परा १६४ वर्ष पुरानो हो। 

दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टुबर र तेस्रो २२ अक्टुबरलाई तय गरिएको छ। 

आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन्।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन र डेमाक्र्याट उम्मेदवारबीच भएको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ मा डोनाल्ड ट्रम्प र जो वाइडेनबीच आरोप–प्रत्यारोपको शृंखला चलेकाे थियाे।

उक्त बहसमा अरु सबैले मास्क लगाएका थिए, तर ट्रम्पको परिवारका सदस्याले मास्क लगाउनु पर्ने नियम अनिवार्य भए पनि अस्वीकार गरेका थिए।

ओहायोको क्लिभल्याण्डमा ९० मिनेट भएको डिबेटमा दोस्रो कार्यकालका लागि उठिरहेका रिपब्लिकनका उम्मेदवार राष्ट्रपति ट्रम्पले वाइडेनमाथि गम्भीर आरोप लगाउँदै भनेका थिए, ‘आजको दिन (वाइडेन) राष्ट्रपति भएको भए देशमा कोरोनाको कारण २० करोड मानिसले ज्यान गुमाइसकेको हुन्थे।’

ट्रम्पको उक्त भनाईप्रति लक्षित गर्दै वाइडेनले देशकै सबैभन्दा बढी झुटो बोल्ने व्यक्तिको उपमा वर्तमान राष्ट्रपतिलाई थमाए।

उनले भनेका थिए, ‘अमेरिका जस्तो विकसित राष्ट्रमा दुई लाख मानिस महामारीको सिकार बन्नु भनेको लाजमर्दो कुरा हो। राष्ट्रपति ट्रम्प र उनको प्रशासनसँग कोरोनाविरूद्ध लड्ने कुनै ठोस योजना थिएन। फेब्रुअरीसम्म उहाँलाई थाहा पनि थिएन, यो कति गम्भीर महामारी हो भनेर। उहाँ महामारी लुकाउन चाहनुहुन्थ्यो। म राष्ट्रपति भएको भए, स्वास्थ्यमा खटिएका कर्मचारी तथा जनता दुबैलाई बचाउँथे।’

यद्यपी पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन र उनकी पत्नी जिल बाइडेनमा भने संक्रमण देखिएको छैन।

याे पनि 

बाइडेन दम्पतीको कोरोना टेस्ट नेगेटिभ

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

सल्लाहकारलाई संक्रमण भएपछि ट्रम्पको कोरोना परीक्षण

‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की:ट्रम्पले भने–वाइडेन राष्ट्रपति भएको भए २ करोड मान्छे मारिन्थेँ, वाइडेनले भने– सटअप!

 

प्रकाशित मिति: : 2020-10-03 06:55:34

प्रतिकृया दिनुहोस्