डा. केसीलाई सरकारले भन्यो – यो बेला अनशन सुहाउँदो विषय होइन

सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए।

‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन’ मन्त्री ज्ञवालीेले भने ।

उनले डा. केसीका धेरै माग पूरा भइसकेको र पूरा गर्न बाँकी विषयमा पछि छलफल गर्न सकिने बताए ।

‘केही विषय बाँकी छ भने पछि छलफल गर्न सकिन्छ । मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं । जनतालाई महामारीबाट जोगाउऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं’ मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले डा. केसीले राखेका धेरै माग पूरा भइसकेको पनि जिकिर गरे । सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने माग पूरा हुने क्रममा रहेको र पीसीआर टेस्टको दायरा बढिसकेको उनले बताए ।

अहिले यस विषयमा सरकारलाई थप दबाब दिन जरुरी नरहेको पनि मन्त्री ज्ञवालीको दावी छ । ‘अन्य विषयमा साधन संोतले भ्याएरसम्म सरकारले हरसम्भव प्रययत्नहरु गरिरहेको छ’ उनले भने ।

प्रकाशित मिति: : 2020-10-01 18:01:07

प्रतिकृया दिनुहोस्