निर्मला बलात्कार र हत्याको अनुसन्धान छिटो निष्कर्षमा पुग्ने गरी काम गर्दैछाैं : आईजीपी थापा

प्रहरी महानिरीक्षक शैलेश थापाले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको बताएका छन्।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले उक्त घटनाको अनुसन्धान कहाँ पुगेको छ भन्ने समितिलाई जानकारी दिन भनेपछि महानिरीक्षक थापाले सकभर अनुसन्धन छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको बताएका हुन्।

निर्मलाको २०७५ साउन १० गते बलात्कार तथा हत्या भएको र ११ गते शव भेटिएको थियो। उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयले अधिकृत पठाइएको र उसले त्यहाँ अनुसन्धान गरिरहेको महानिरीक्षक थापाले समितिलाई जानकारी दिए। 

निर्मला प्रकरणको छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजीलाई पनि विशेष जिम्मेवारी दिएको उनले जानकारी दिए।

‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रूपमा अनुसन्धानमा लागेका छौं। अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतले घटनाको रिभ्यू लिरहेका छन्,’ थापाले भने।

निर्मला प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीले आरोपितलाई यातना दिएको भनेर अदालतमा मुद्दा परेको मुद्दामा जिल्ला अदालतले सफाइ दिएकाले पनि अनुसन्धानलाई सहयोग मिल्ने थापाले विश्वास व्यक्त गरे। 

‘प्रहरीले यातना नदिएको भन्ने कुरा अदालतबाट पुष्टि गरिसकेको छ,’ उनले भने, ‘अब सफाइ पाएकाहरुको पनि सहयोग लिएर अनुसन्धान थप तीव्र बनाइनेछ।’

प्रकाशित मिति: : 2020-09-30 13:46:33

प्रतिकृया दिनुहोस्