मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न ओली र दाहालबीच आज पनि भेट

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि छलफल भइरहे पनि कुरा मिल्न सकेको छैन। आज पनि सोही विषयमा छलफल भइरहेको बताइएकाे छ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच नाम र मापदण्डमा कुरा मिलेको छैन। प्रचण्डले साविक माओवादीका यसअघिको विवादमा प्रधानमन्त्री ओलीलाई साथ दिने मन्त्री हटाउन चाहन्छन्। आफूलाई ओलीसँग मिल्न दबाब दिने साविक माओवादीका नेकपा स्थायी कमिटी नेताहरुलाई मन्त्री बन्नबाट रोक्न चाहन्छन्। जुन ओलीको स्वार्थभन्दा ठीक विपरीत हो। 

ओली चाहिँ प्रधानमन्त्री फेर्ने प्रचण्ड-माधव नेपालको अभियानमा आफूलाई साथ दिने वरिष्ठ मन्त्रीलाई निरन्तरता दिन चाहन्छन्। बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओली कम्तिमा पनि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री ‘बादल’ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई क्याविनेटमा निरन्तरता दिन चाहन्छन्।

त्यसैले ओली दुई वर्ष पुगेका सबै मन्त्री हटाउने भन्ने प्रचण्डले अघि सारेको ‘मापदण्ड’ सँग असहमत छैनन्। उनी ‘पर्फर्मेन्स’ हेरेर केही मन्त्री राख्नुपर्ने अडानमा रहेको स्रोतको दाबी छ। गत मंसीरमा मन्त्री भएकामध्ये पनि कमजोर ‘पर्फर्मेन्स’ भएका कम्तिमा दुई मन्त्री हटाउने तयारीमा छन्। ती एक साविक माओवादी र एक साविक एमालेका ओली खेमाकै रहेको स्रोतको दाबी छ। 

प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले भने मंगलबारको बैठकमा दुई अध्यक्षबीच सहमति हुने दाबी गरेका छन्।

नेकपा स्रोतका अनुसार, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवै जना मन्त्रिमण्डलमा ठूलै हेरेफेर गर्ने पक्षका छन्। अर्थ, सञ्चार र शहरी विकास गरी तीन मन्त्रालय रिक्त छन्। कम्तिमा दुई, जरुरी परे तीन मन्त्रालयसम्म थप्ने तयारी छ। उद्योग, वाणिज्य तथा आपूर्तिलाई फुटाएर दुई वटा मन्त्रालय बनाउने तयारी छ भने रेल मन्त्रालय थप्ने तयारी छ।   

प्रचण्ड दुई वर्ष मन्त्री भइसकेका सबैलाई हटाउने मापदण्ड बनाउन चाहन्छन्। अनि पहिले अलग–अलग पार्टी हुँदा साविक माओवादीको भागमा परेका सात जना मन्त्री आफ्नो सिफारिशमा बनाउन चाहन्छन्। त्यसो गर्दा मन्त्रिमण्डलमा साविक माओवादीबाट यसअघिको विवादमा आफूलाई दबाब दिनेहरु र ओलीलाई साथ दिनेहरुलाई सरकारमा स्थान नदिन प्रचण्डलाई सहज हुने ओली पक्षको विश्लेषण छ।

प्रकाशित मिति: : 2020-09-29 13:06:21

प्रतिकृया दिनुहोस्