नेपाली भूमिमा भवन बनाएका छैनौं, नेपालले चाहे सत्यतथ्य जाँच गर्न सक्छ: चीन

चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गरेको छ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन। दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन्। यदि नेपालले चाहे भवनहरुको सत्यतथ्य जाँच गर्न सक्छ।’

नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो। तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ। चिनियाँ पक्षले भनेको सीमा भवनहरु बनेको स्थानबाट नेपालतर्फ एक किलोमिटरमा पर्छ। 

मंगलबार मात्रै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो।

टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन।

११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उनले बताए। 

यद्यपी हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको थियो।

अध्यक्ष तामाङका अनुसार नेपाली टोली पुगेपछि चिनियाँ प्रहरीले सेनालाई खबर गरेको थियो। एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको भएको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो।

प्रकाशित मिति: : 2020-09-23 08:34:39

प्रतिकृया दिनुहोस्