डा. केसी काठमाडौं फर्किंदै, सत्याग्रह जारी

स्वास्थ्य र मेडिकल शिक्षाको सुधारको माग राख्दै जुम्लामा १९ औं सत्याग्रह थालेका डा. गोविन्द केसी काठमाडौं फर्किने भएका छन्।

आफ्नो सत्याग्रह काठमाडौंमा जारी राख्ने भन्दै उनी सोमबार जुम्ला छोडेका हुन्।

डा. केसीले सरकारले सत्याग्रह स्थलबाट अपहरण शैलीमा जबर्जस्ती गर्ने कार्य गरेको कारणले असुरक्षित महसुस भएकाले काठमाडौं फर्कन लागेको आज एक विज्ञप्ति जारी गदै बताएका छन्।

 ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन, विज्ञप्तिमा भनिएको छ,‘ त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं।’

जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई डा. केसीले धन्यवाद दिएका छन् भने आफूले राखेका सबै माग पुरा गराएर मात्रै सत्याग्रह टुंगाउने जनाएका छन्।

डा. केसीले १९ औं सत्याग्रह बसेको ८ दिन बितिसकेको छ। तर, सरकारले उनको मागप्रति कुनै चासो देखाएको छैन।

प्रेस विज्ञप्ति
 
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन । बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ ।

दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं ।
 
डा गोविन्द केसी
जुम्ला
२०७७ असोज ५

प्रकाशित मिति: : 2020-09-21 16:44:03

प्रतिकृया दिनुहोस्