जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले नेपालको संविधान असुरक्षित रहेको बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित नरहेको बताएका हुन्।
शुक्रबार संविधान दिवस अवसरमा सामाजिक सञ्जालमार्फत डा भट्टराइले प्रधानमन्त्रीलाई लक्षित गर्दै भनेका छन्,‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन। अपांग शिशुको उपचार र रक्षागरौं।’
संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा:१.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्;अरू धाइ,सुसारे,पण्डा,नर्तकी,तमासे हुन्;२.गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन;३.अपांग शिशुको उपचार र रक्षागरौं!
— Baburam Bhattarai (@brb1954) September 18, 2020
उनले संविधान दिवसमा सबैले सम्झनुपर्ने कुराहरु भन्दै आफ्ना तीन बुँदे धारणा ट्विटरमा लेखेका छन्।
पहिलो बुँदामा उनले लेखेका छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन् । अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’
दोस्रो बुँदामा भट्टराइले लेखेका छन्, ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन।’
‘अपांग शिशुको उपचार र रक्षा गरौँ’, तेस्रो बुँदामा उनले लेखेका छन्।