इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

इजरायलद्वारा युएई र बहराइनसँग सम्बन्ध सामान्य बनाउने एउटा ऐतिहासिक सम्झौतामा भएको हस्ताक्षरमाथि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्।

इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।

ह्वाइट हाउसमा मङ्गलबार आयोजित कार्यक्रममा ट्रम्पले ‘दशकौंपछिको विभाजन र द्वन्द्वपश्चात्‌ आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ,’ भनेका हुन्।

हस्ताक्षरकर्ता तीनै देशले यो सहमतिलाई ऐतिहासिक भनेका छन्। ट्रम्प प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो।

सन् १९४८ मा स्थापना भएयता इजरायललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन्।

अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ। तर प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका छन्।

प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरायललाई बहिष्कार गर्दै आएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै  यो इतिहासको एउटा निर्णायक दिन भएको भन्दै यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको बताए।

समाचार संस्था एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरायल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन्।

‘इजरेली कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन’, उनले भने।

यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डनले मात्र इजरायललाई औपचारिक रूपमा मान्यता दिएका थिए।

इजिप्टले सन् १९७८ मा र जोर्डनले सन् १९९४ मा इजरेलसँग शान्ति सम्झौता गरेका थिए।

प्रकाशित मिति: : 2020-09-16 07:54:00

प्रतिकृया दिनुहोस्