इन्दिरा प्रसाईं
खासमा मलाई पनि चेतनाको प्रारम्भिक खुड्किलो उक्लँदै गर्दा नारी पुरूष विभेदात्मक हाम्रा विविध सनातनी संस्कारहरूमा रुचि र विश्वास नै थिएन। घुमिफिरी पुरुषकै मात्र हैकम र बोलवाला रहने यी संस्कारजन्य क्रियाकलापमा विगतमा म सकेसम्म सहभागी हुनबाटै पनि तर्किन्थेँ।
सहभागी हुनैपर्ने अवस्था आइपर्दा पनि बोक्रे आडम्बरी भएर सहभागी हुने गर्थें। तर, विस्तारै विस्तारै बयोवृद्धहरूबीच मैले यी संस्कारजन्य कुराहरूको गुदी खोतल्न थालेँ। त्यसपछि पितृसत्तात्मक शैलीबाट उब्जिएका र पुरूष नै प्रधान भएका खास गरेर यी श्राद्धकर्ममा स्त्रीपक्ष कमजोर हुनु मलाई अनौठो लागेन। वास्तवमा कुराको चुरो बुझिसकेपछि पितृसत्तात्मक ढाँचामा स्त्रीले मातापिताको श्राद्धादी कर्म गर्नु पनि मृगमरिचिका बाहेक मलाई केही लागेन।