राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदबीच भेटवार्ता भएको छ । आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको जनाइएको छ ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा राजदूत जावेदलाई बधाइ दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका छन् । 

नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताए । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर-व्यवस्थापिका संघलगायतका संस्थामा दुई देश एकैठाउँमा रहेकाले सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राखेका छन् । 

अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरु दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले नेपाली विद्यार्थीहरूलाई मेडिकल, इन्जिनियरिङलगायत विषयको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिएका छन् । अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्धलाई मजबुत बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै उनले पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निम्ता दिएका छन् । 

भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।  

प्रकाशित मिति: : 2020-09-14 15:49:47

प्रतिकृया दिनुहोस्