धनुषामा जारी निषेधाज्ञा असोज ४ गतेसम्म लागू हुने

 कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै धनुषामा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिइएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्र धनुषाको सिफारिसमा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आगामी असोज ४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हाे।

निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले किराना, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि राति ८ बजेसम्म स्वास्थ्य सम्बन्धी मापदण्ड परिपालना गर्नेगरी संचालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै, निषेधितबाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने उनले बताए।

उनका अनुसार जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइने निर्णय पनि गरिएकाे छ।

जिल्लामा शैक्षिक संस्था, अनुमति प्राप्तबाहेकका आन्तरिक उडान, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, स्पा, सैलुन व्युटीपार्लर खोल्न निषेध गरिएको छ।

प्रकाशित मिति: : 2020-09-13 18:52:40

प्रतिकृया दिनुहोस्