कांग्रेसले भन्याे– सरकारकाे भर परे ज्यान जान सक्छ, आफैँ सजक रहौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोरोना रोकथाममा अझैसम्म पनि गम्भीर नबनेको आरोप लगाएको छ। 

आइतबार नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले प्रदेश २ का नेपाली कांग्रेसका नेता तथा विज्ञसँगको छलफलमा सो नित्कर्ष निकालेका हुन्। 

भिडियो कन्फरेन्समा बोल्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले भने, ‘सरकार अझै गम्भीर बनेको छैन। आएर बचाउला भनेर भर परेर बसे ज्यान जान सक्छ, आफैँ सजक रहौं।’

यता सभापति शेरबहादुर देउवाले सबैलाई आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान र निरन्तरता हातलाई स्यानिटाइज गर्न आग्रह गरे। 

‘सबैले स्वास्थ्य खानेकुरा खानुहोला। घरबाहिर निस्कदा र भिडभाडमा जाँदा मास्क लगाएर सामाजिक दुरी कायम गर्नुहोला र स्यानिटाइजर प्रयोग गर्नुहोला,’ उनले भने। 

यस्तै उक्त भिडियो कन्फरेन्समा बोल्दै कांग्रेसका सहमहामन्त्री एवम् कोभिड अनुगमन समितिका संयोजक डा महतले सरकारले फागुनदेखि अहिलेसम्म पनि पीसीआर टेस्ट व्यापक नबनाएको र उपचारको उचित ब्यवस्थापन नगरेको भन्दै आक्राेश पोखे।

‘उपचार नपाएर बिरामी छटपटाएका छन्। अहिलेसम्म न प्रयाप्त अस्पतालको व्यवस्था गर्न सकेका छन् नत बिरामीलाई तत्काल उपचारको प्रवन्ध मिलाउन नै। सरकारकारले यसलाई मनन गरेर उपचारमा ध्यान दिनुपर्छ,’ उनले भने। 

 भिडियो कन्फरेन्समा प्रदेश २ का कांग्रेसका नेता तथा विज्ञहरुले आफ्नो धारणा राखेका थिए। उनीहरुले प्रदेश सरकार र केन्द्र सरकार कोरोना रोकथाममा उदासीन भएको नेतृत्वलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2020-09-13 18:20:21

प्रतिकृया दिनुहोस्