नेकपाले मंसिरभित्रै सदस्यता नवीकरण गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। पार्टीको अन्तरविरोध ब्रेक लागेसँगै आइतवार पार्टी कार्यालय धुम्बाराहिमा बसेको बैठकले आगामी मंसिरभित्र सदस्यता नवीकरण गर्ने निर्णय निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार अब पार्टी सदस्यता नवीकरणका लागि परिपत्र जारी हुनेछ। संगठन विभागले सदस्यता नवीकरण गर्ने निर्णय गरेको भन्दै उनले अब सचिवालय बैठकबाट परिपत्र जारी हुने बताए।

नेकपाले ८ लाख कार्यकर्ता रहेको दाबी गर्दै आए पनि पार्टी एकताको २७ महिनामा पनि कार्यकर्ता एकिन गर्न सकेको छैन।

नेकपाको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले चैत २५- ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनका लागि सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ। आजको बैठक महाधिवेशन केन्द्रीत रहेको रिजालले बताए।

पार्टी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा राखेको प्रस्तावमा पनि मंसिर मसान्तभित्र नवीकरण गर्ने उल्लेख छ। जुन बैठकले पारित गरिसकेको छ।

प्रकाशित मिति: : 2020-09-13 17:20:07

प्रतिकृया दिनुहोस्