प्रचण्डकाे सरकारसँग आग्रह– बाह्रविसेका पहिराे पीडितकाे उद्धार र वैकल्पिक बसोबासको व्यवस्था गर्नू

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ स्थित घुम्थाङको नागपुजेमा खसेको पहिराेबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । 

आइतबार एक शोक वक्तव्य जारी गर्दै उनले पहिराेमा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरे।

‘दुःखद क्षणमा पहिराेमा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु’, उनले भनेका छन्। 

उक्त पहिराेमा परेका नौ जनाको शव फेला परेको मेयर निमफुन्जो शेर्पाले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्। अन्य २२ जना हराइरहेका छन् । 

उनका अनुसार पहिराेले १९ घर पुरिनाका साथै २२२ घर उच्च जोखिममा छ। 

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा  केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकको स्थानान्तरण गर्नसमेत उनले आग्रह गरेका छन्। 

‘उनीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु’, उनले वक्तव्यमा भनेका छन्, ‘मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।’ 

 

प्रकाशित मिति: : 2020-09-13 14:14:21

प्रतिकृया दिनुहोस्