सविन डाँगी
अहिले नेपालका नेता र उनीहरूको व्यवहार र कार्यशैलीप्रति आमरुपमा नकारात्मक टिप्पणी र विरोध भइरहेको छ। जसरी नेताहरू जनतासँग गरेका बाचा बिर्सेर सत्ता र शक्तिको लागि लुछाचुँडी गर्दैछन्, उसैगरी जनताको राजनीति र नेताप्रतिको विश्वास दिनानुदिन घट्दै गइरहेको छ। जुन गतिमा नेपाल विकसित हुनुपर्ने हो, सिंगो नेपाल हल्लाउने नेताहरूले जसरी प्रतिबद्धता गरेअनुरूप देश विकासको काम अगाडि बढाउनुपर्ने हो। तर, त्यो भएको छैन।
आमजनताले त्यसमा मूल्यांकन गरिरहेका छन्। तर, हामी यति धेरै निराश हुनुपर्ने,नेतालाई संधै गाली गर्नुपर्ने र नकारात्मक टिप्पणी मात्र गर्नुपर्ने अबस्था भने छैन पक्कै।
धेरै समय भएको छैन, एउटै जिल्लाभित्र पत्र आदानप्रदान गर्न १५/२० दिन लाग्थ्यो। एउटा सिँगै डाँडामा एउटा एडिएसएल फोन थिएन। रेडियो नेपाल सुन्न रेडियो स्याँस्याँ गराउनुपर्थ्यो। विद्यालय, स्वास्थ्य संस्था, बाटो, खानेपानी,पुल पुलेसाहरूको अवस्था के थियो? प्रतिव्यक्ति आय कति थियो? औसत आयु कति थियो? आर्थिक वृद्धिदर कहाँ थियो? सामाजिक उत्पीडनमा परेका जाति समुदायको स्थिति के थियो? बूढाबूढि, अशक्त र बालबालिकाको अवस्था के थियो? विद्युत,कृषि र पर्यटन को अवस्था कस्तो थियो? एकपटक यी फर्केर हेरौं त।