आफूलाई मार्ने धम्की दिनेलाई रिहा गर्न मेयर चिरिबाबु महर्जनको आग्रह

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘आफूलाई मार्ने धम्की’ दिने सञ्जय शाक्यलाई रिहा गर्न आग्रह गरेका छन्।

बुधबार मेयर महर्जनले एक विज्ञप्ति जारी गर्दै गत बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा पक्राउ परेका शाक्यलाई रिहा गर्न आग्रह गरेका हुन्।

शाक्यले मेयरलाई दिएको धम्की उत्तेजना र आवेशमा आउँदा त्यस्तो अभिव्यक्ति दिन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

'ती व्यक्तिले उत्तेजनामा आएर त्यस्तो गलत उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्ने मेरो ठहर छ,'विज्ञप्तिमा मेयर महर्जनले भनेका छन्,'त्यो अभिव्यक्तिलाई मैले उत्तेजनात्मक र आवेशमा आएर दिएको अभिव्यक्तिको रूपमा लिएको छु। तसर्थ, सञ्जय शाक्यलाई पनि निसर्त अविलम्ब रिहा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछु।'

महानगरीय अपराध महाशाखाले शाक्यलाई आइतबार नख्खुबाट पक्राउ गरेको थियो।

साथै, उनले त्यस झडपमा पक्राउ परेका अन्य व्यक्तिहरूको पनि निसर्त रिहा गर्न आग्रह गरेका छन्।

मेयरले रातो मन्छिन्द्रनाथको रथ बनाउने र तान्ने प्रक्रियाका महानगरको भूमिका नहुने कुरा समेत प्रष्ट पारेका छन्।

यसमा भक्तजनहरूको व्यवस्थापन र जात्राका लागि लजिस्टिक सपोर्ट मात्रै गर्न खोजिएको बताए।

यस घटनामा महानगरीय प्रहरी परिसर, ललितपुरले १७ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ६ जना कोरोना संक्रमितसहित ७ जनालाई हाजिर जमानीमा रिहा गरेको थियो।

प्रकाशित मिति: : 2020-09-09 17:08:31

प्रतिकृया दिनुहोस्