अमेरिकाको चुनावी सभामा आरोप–प्रत्यारोप सुरुः ट्रम्पको दावी–वाइडेनको दिमाग ठिक छैन

अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिन थालेसँगै आरोप–प्रत्यारोपको सिलसिला सुरु भएको छ। डेमोक्र्याट पार्टीका उम्मेदवार जो वाइडेनले रिपब्लिक पार्टीका प्रतिस्पर्धी तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा विजयी भए अमेरिका युद्धतर्फ ढकेलिने प्रतिक्रिया दिएका थिए। 

वाइडेनको यो भनाईको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले आफूले अमेरिकालाई युद्ध हुनबाट जोगाएको बताएका छन्। उनले पेन्सेल्भेनियाको लेट्राबो सहरमा हालै गरेको एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भनेका छन्, ‘मैले अमेरिकालाई युद्धबाट जोगाएको छु।’

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको उदाहरण दिँदै आफूले सम्भावित युद्धलाई रोकेको बताए। उनले आफ्ना प्रतिस्पर्धी वाइडेनप्रति कटाक्ष गर्दै भने, ‘मलाई लाग्छ, उनको मानसिक सन्तुलन ठिक छैन।’ 

वाइडेनले रुसप्रति गहिरो मोह भएको आरोप ट्रम्पमाथि लगाएका थिए। वाइडेनको यो भनाई प्रति भने ट्रम्प ‘डिफेन्सिभ’ देखिए। भने, ‘डेमोक्र्याट्सहरूले जब मलाई रुससँग नजिक भएको कुरा भन्न थाल्छन्, म न्युज च्यानल बन्द गरिदिन्छु। यिनीहरू सधैं मलाई कट्टरपन्थी भनेर बोलाउँछन्। युद्धतर्फ देशलाई धकेल्दै छ भन्छन्। तर साँचो कुरा यो हो, मैले युुद्धबाट अमेरिकालाई जोगाएको छु। उत्तर कोरियामा के भयो? 

तपाईहरूलाई थाहा नै छ। मैले किम जोङसँग कुरा गरें। अब भन्नुस् मैले रुससँग राम्रो सम्बन्ध बनाउने प्रयास गरें। के यो राम्रो कुरा होइन? मलाई लाग्छ, यो राम्रो कुरा हो।’

ट्रम्पले आफ्नो भाषणमा डेमोक्र्याट पार्टीका सांसद एडम सिफलाई उध्रृत गर्दै भनेका थिए, ‘उनी जहिले पनि रुसलाई मात्र शत्रु देख्छन् तर चीनको विषयमा किन कुरा गर्दैनन्? डेमोक्र्याटहरू जतिबेला पनि रुस..रुस..रुस भनेको मात्र सुन्छु। दोस्रो राष्ट्रसँग मिलेर अगाडि बढ्ने कुरामा के खराबी छ? मेरो विचारमा राम्रो कुरा हुनुपर्ने हो।’

यसै साता होमल्याण्ड सुरक्षागार्डले दावी गरेको थियो, ‘रुसले अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित गर्न गहिरो योजना बनाउँदै छ।’ यस्तो बेला ट्रम्पको रुसप्रति लचिलो बयानले सबैलाई छक्क पारेको छ। 

सन् २०१६ को चुनावमा पनि ट्रम्पलाई विजयी गराउन रुसले समर्थन गरेको र साइबर हमला गरेको आरोप लागेको थियो। 

चुनावी सभामा वाइडेनको मजाक उडाउन ट्रम्प पछि हटेनन्। वाइडेनले मास्कलाई बारम्बार मिलाई रहेको घटना उध्रृत गर्दे उनले भने, ‘तपाईहरूले मास्कप्रति मोह भएको अर्को कुनै व्यक्ति अमेरिकामा देख्नु भएको छ। धेरै पल्ट उनले मास्कलाई कानमा झुन्ड्याएका मात्र छन्, सुरक्षित महसुस गर्न। यदी म मनोचिकित्सक भएको भए, म उनलाई मानसिक समस्या भएको मान्छे घोषित गरिदिन्थे।’ 

अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको चुनाव हुँदैछ।

प्रकाशित मिति: : 2020-09-06 07:37:43

प्रतिकृया दिनुहोस्