नेकपा सचिवालय बैठक बस्दै, राष्ट्रियसभामा वामदेव कि खतिवडालाई निरन्तरता दिने भन्नेबारे निर्णय हुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बिहीबार दिउँसाे तीन बजे बस्दैछ। बिहान ११ बजेपछिका लागि बोलाइएको बैठक दिउँसाे तीन बजेका लागि सारिएकाे हाे।

बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेवा गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुने जनाइएको छ।

पछिल्लो केही दिनयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच गौतम नै राष्ट्रिय सभामा जानुपर्ने विषयमा छलफल भएको थियाे। प्रचण्ड, नेपाल र खनालले यस विषयमा गौतमसँग पनि छलफल गरेको र सो क्रममा गौतमले पार्टीले निर्णय गरेको खण्डमा आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको बताएका थिए।  

तर पार्टीभित्र बामदेव गौतमलाई नै राष्ट्रियसभामा लैजानुपर्ने मत बलियो बन्दै गएको छ। यता गौतमले पनि आफूलाई राष्ट्रियसभामा लैजाने यसअघि भएको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। 

राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो।

सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा शनिबारसम्म मात्र मन्त्री हुन पाउने र यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ।

बिहीबारको बैठकले राष्ट्रियसभामा कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने सम्भावना छ। सचिवालय बैठकबारे बुधबार बेलुका ओली र दाहालबिच बालुवाटारमा छलफल भएको थियो। 

यस्तै बिहीबारको बैठकमा पार्टीको विवाद समाधानका लागि अध्ययन गरी विकल्पहरुसहितको प्रतिवेदन बुझाउनका लागि बनाइएको कार्यदलले आफ्नो प्रतिवेदन पनि बुझाउने छ।

प्रकाशित मिति: : 2020-09-03 09:55:48

प्रतिकृया दिनुहोस्