वीर अस्पतालका कर्मचारीले तलबै पाएनन्

सरकारले पैसा दिएको छैन : निर्देशक सेन्चुरी

कोरोना संक्रमणको कहाली लाग्दो अवस्थाका बीच अग्रपक्तिमा बसेर काम गर्ने स्वाथ्यकर्मीलाई सरकारले काम गर्दाको अवस्थामा छुट्टै कोरोना भत्ताको व्यवस्था गर्ने घोषणा गर्‍याे। 

राज्यको यो नीतिलाई टेकेर अधिकांश संघसस्था तथा सरकारी कर्मचारीले भत्ता पनि खाए। 

तर, नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले भत्ता त टाढाको कुरा गत महिनादेखि तलब पनि खान पाएका छैनन्। 

अहिले राजधानी काठमाडौंमा कारोना संक्रमणको अत्याधिक चाप भएको अस्पताल हो,वीर।  यसअघि वीरका कर्मचारीले महिनाको अन्त्य,नभए अर्को महिनाको पहिलो सातासम्म तलब पाउदै आएका थिए। 

वीरमा कार्यरत  स्वास्थ्यकर्मीले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार उनीहरूले साउन महिनादेखि तलब पाएका छैनन्। 

‘अन्य बेला सधै महिनाको सुरुवातमै तलव आउँथ्यो। अहिले साउन महिनाको तलब भदौको आधा महिना बितिसक्दा पनि आएको छैन,’वीरमा कार्यरत एक स्वास्थ्यकर्मीले बीएल नेपाली सेवासँग भने–‘तलब कहिले आउँछ भनेर सोध्यो भने प्रशासनका अधिकारीले अब आउँछ मात्र भन्छन्। तर, समय तोकिरहेका छैनन्।’

उनी कोरोनाका कारण त्यसै पनि घरको आर्थिकअवस्था कमजोर भएको बेला तलब नआउँदा झन् बढी मारमा परेको बताउँछन्। 

‘कोरोनाको डर एकातिर छदैछ। सरकारले बेलामा तलब नदिँदा अर्को तनाव थपिएको छ,’ उनले भने–‘कोरोनाको बेला उपचारमा खटिनेलाई छुट्टै भत्ता दिने भन्ने कुरा सुनेका थियौं। अहिले भत्ता होइन, तलब नै आएको छैन।’ 

वीर अस्पतालका कार्यकारी निर्देशक डाक्टर केदार सेन्चुरीले पनि  कर्मचारीलाई तलब ख्वाउन ढिलो भएको स्वीकार गरे। 

बीएल नेपाली सेवासँग कुरा गर्दै उनले भने,‘प्रतिष्ठानका कर्मचारीलाई अस्पतालले आन्तरिक स्रोतबाट तलब–भत्ता उपलब्ध गराउने हो। अहिले अस्पतालको आम्दानी छैन। सरकारबाट आउने अनुदान पनि आएको छैन।’ 

उनले अरु बेला समस्या नभएको स्पष्ट पार्न खोजे। ‘अहिले कोरोनाको बेला अस्पतालमा बिमारीहरु कम आइरहेका छन्। आम्दानी छैन। त्यसैले साउन महिनाको तलब ख्वाउन समस्या परेको हो,’ उनले भने।

निर्देशक सेन्चुरीका अनुसार अहिले वीरमा  सबै गरेर १२ सय कर्मचारी कार्यरत छन्।

‘सबैले सुनेकै कुरा हो, अहिले हामी वीरमा स्वास्थ्यकर्मीले कतिको जोखिम मोलेर काम गर्नु परेको छ,’ वीरमा कार्यरत अर्का चिकित्सकले भने,‘सरकारले कोरोनाका नाममा अर्बौ रकम खर्चेको छ। तर हामीले तलब पाएका छैनौं।’ 

उनले तलब–भत्ता आएन भन्दैमा संकटको बेला स्वास्थ्यकर्मी भाग्न नमिल्ने बताए। त्यसैले आफूहरूले तलब–भत्ताको वास्ता नगरेर काम  गरिरहेको बताए। ‘हाम्रो नैतिकताले पनि दिँदैन। हामी २४ घण्टा खटिरहेका छौं,’ उनले भने। 

तर, उनले भोको पेट कति दिन काम गर्ने सरकारसँग प्रश्न गरे?

प्रकाशित मिति: : 2020-09-02 19:17:20

प्रतिकृया दिनुहोस्