बंगलादेशी समकक्षी र प्रधानमन्त्रीबीच टेलिफाेन: युरिया मल दिन अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोनमा कुराकानी गरेका छन्।

मंगलबार दिउँसो भएकाे कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध प्रधानमन्त्री ओलीले ट्वीटरमा जानकारी दिएका छन्।

‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल(बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो। यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ,’ ओलीले लेखेका छन्।

नेपालमा यसपालि धानमा हाल्ने रासायनिक मलको  हाहाकार छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार यसपालि ५० हजार मेट्रिक टन युरिया मल ल्याउन दुई कम्पनीसँग सम्झौता गरिएको भए पनि अहिलेसम्म उनीहरूले मल ल्याउन सकेका छैनन्।

टेलिफोन कुराकानीमा क्रममा प्रधानमन्त्री हसिनासँग दुई पक्षीय व्यापार, उर्जा र  ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

आगामी आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले रासायनिक मल अनुदानका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

किसानलाई बाली लगाउनु पूर्व नै मलको अभाव हुन नदिन ११ अर्ब रुपैयाँ बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

गत वर्ष मलमा ९ अर्ब रुपैयाँ छुट्याइएको थियो।

प्रकाशित मिति: : 2020-09-01 18:27:54

प्रतिकृया दिनुहोस्