जनताको ज्यानको रक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता: मुख्यमन्त्री राउत

बिएल संवाददाता

हरिवन (सर्लाही)

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको समयमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदमहरु र अगामी दिनमा प्रदेश सरकारलाई चाल्नु पर्ने कदम बारे सरोकारबालाहरुसँग सृुझाव लिन सर्लाहीको हरिवानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन्। 

उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटकपटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाएपनि जिम्मेवारव्यक्तिहरुले सदुपयोग गर्न नसकेको गुनासो गरे ।

प्रदेश सरकारले जिल्ला प्रशासन र अस्पताल लगायतलाई रकम उपलब्ध गराएपनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘हामीले गर्न सक्ने र हाम्रो क्षमताले भ्याएसम्म कोरोना महामारी नियन्त्रणका हर सम्म्भव प्रयास गर्ने छौं।,’ 

उनले जनअपेक्षा अनुरुप आठ वटै जिल्लामा पिसिआर सञ्चालनका लागि प्रक्रिया शुरु भई सकेको उल्लेख गरे। ‘रौतहटमा जडान प्रक्रिया शुरु भै सकेको छ । बाँकी रहेको जिल्लामा समेत १५ दिन भित्र पिसिआर मेसिन सञ्चालनमा आउछ,’ उनले भने।

हालै जिल्लाहरुमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न निर्देशनसमेत दिए ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले स्वास्थ्य सामग्रीको कुनै आभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं विज्ञ समूहका सदस्य डा‍ सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रदेश प्रमुख हरु, गौर, मलंगवा र हरिवनका मेयरहरु, रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु गौर र मलंगवा अस्पतालका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो । 

कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको वर्तमान अवस्था र अगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरु बारे आ–आफनो धारणा राखेका थिए ।

प्रकाशित मिति: : 2020-08-27 19:19:54

प्रतिकृया दिनुहोस्