जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका छन् ।
बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन्। क्षतिको यकिन विवरण भने आइनपुगेको उनले जानकारी दिए ।
चरन क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेंडापालक किसानको पुख्र्यौली पेशालाई नै बज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेंडापालन हो ।
बुढथापाले भने, ‘सबै भेंडा मरेपछि व्यावसायिक रूपमा भेंडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको छ ।’ जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेंडा मरेका थिए ।