कोरोना संक्रमितको अस्पताल भर्नामा मन्त्रालयको अनिवार्य सिफारिशको निर्णय अविवेकी र अव्यवहारिकः गगन थापा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) का बिरामी भर्ना लिँदा मन्त्रालयको अनिवार्य सिफारिस लिन र समन्वय गर्न काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई निर्देशन जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’  शीर्षकमा निर्देशन जारी गर्दै उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको एचइओसी (हेल्थ इमर्जेन्सी अपरेशन सेन्टर) टिमसँग अनिवार्य सिफारिस र समन्वय गर्नुपर्ने भनेको छ।

‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचइओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ,’ निर्देशनमा भनिएको छ।

मन्त्रालयले यस्तो सिफारिस र समन्वयका लागि एचइओसी कल सेन्टर, चिकित्सकको नाम र फोन नम्बर पनि दिएको छ।

पूर्व स्वास्थ्य मन्त्री थापाको प्रश्न: यसको अर्थ के हो?

पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले बिरामी भर्ना गर्न अस्पतालले मन्त्रालयको सिफारिस लिनुपर्ने हो कुरा कल्पना पनि गर्न नसकिने भन्दै आशय प्रष्ट पार्न अनुरोध गरेका छन्।

"मन्त्रीज्यू,यो निर्देशनको अर्थ के हो? लेखिएजस्तो बिरामी भर्ना गर्नुपूर्व अस्पताल वा बिरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहीन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्न। लेखिएभन्दा फरक आसय हो भने के भन्न खोजेको हो प्रष्ट बुझ्ने गरी भनिदिनुहोस्," थापाले आफ्नो ट्वीटमा लेखेका छन्।

प्रकाशित मिति: : 2020-08-23 18:03:22

प्रतिकृया दिनुहोस्