सुनसरीको कोशी गाउँपालिका २ का वडाअध्यक्ष हिराललाल यादवको भेन्टिलेटर खोज्दा खोज्दै ज्यान गएको छ।
घरमै बसिरहेको बेला एक्कासी देब्रे छाति दुखेपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइयो।
धरान पुर्याइएका यादवलाई अक्सिजनसहितको भेन्टिलेटर वेड अभाव रहेको हुँदा तत्काल वेड पाउन असम्भव भयो।
आफन्तले विराटनगरका अस्पतालमा वेड भएनभएको बुझे। अधिकांश अस्पताल बन्द थिए। अस्पतालमा पनि वेड नभएको जानकारी पाएपछि यादवलाई बिग्रदो हालतकैबीच झापाको बिएण्डसी अस्पताल पुर्याइयो।
अस्पताल पुर्याउँदा उनको स्वास्थ्य अवस्था झन खराब भइसकेको थियो। अन्ततः डाक्टरहरूले मृत घोषणा गरे।
गाउँपालिकाका अध्यक्ष अयूव अन्सारीका अनुसार आफूले पनि धरान र विराटनगरका अधिकांश अस्पतालमा भेन्टिलेटर सेवा भएनभएको बारे बुझ्दा कतै पनि खाली नभएको पाइएको जानकारी पाएको बताए।
वडाअध्यक्षलाई समस्या हुनेबित्तिकै भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको भए ज्यान बच्न सक्ने भन्दै उनले आज जनप्रतिनिधिले त समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्यो भने सामान्य नागरिकको हालत के हुने होला? भन्ने चिन्ता व्यक्त गरे।
अन्सारीका अनुसार मृत्यु भएका ४९ वर्षीय यावद विगत डेढ वर्षदेखि मुटु रोगी थिए।