राहत बाँड्न भन्दै गृहमन्त्रीसहितको टोली अछामतिर

बाढीपीडितहरुका लागि राहत उपलब्ध गराउन भन्दै  गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली अछामको रामारोशन गाउँपालिकातिर लागेको छ।

गृहमन्त्रीको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् अछामतर्फ प्रस्थान गरेको हो।

राहत सामग्री वितरणका लागि गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवं सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी , गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल अछामतिर लागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

अछामको रामारोशन गाउँपालिका–५ मा तीन दिनअघिको बाढीमा परि ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्।

मंगलबार रातिको बाढीले सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए। बुधबार ६ जनाको शव भेटिए पनि अझै ११ जना बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।

उनका अनुसार भेटिएकामध्ये ५ वटा शव जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ। एक जनाको शवलाई भेटिएकै ठाउँबाट आफन्तको जिम्मा लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले सैनीबजारका १८ परिवारसहित कैलाश खोलाकै बाढीले मुजाबगर, गजड, खालबजार, पुलबजारलगायतका ठाउँका धेरै परिवार विस्थापित भएको बताए।

उनीहरुको व्यवस्थापन गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। विस्थापित परिवारका लागि तत्कालै गाउँपालिकाले राहतको व्यवस्था गरेको थियो।

प्रकाशित मिति: : 2020-08-21 11:08:54

प्रतिकृया दिनुहोस्