नेपाल फर्किन लगेजसहित यूएईको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि गत मंगलबार नेपाल फर्किन नपाएका २६२ जना नेपालीहरु आइतबार नेपाल आउन पाउने भएका छन्।
नेपाल एअरलाइन्सका टिकाराम पँगेनीका अनुसार आगामी आइतबार दुबईबाट नेपालका लागि हुने उडानबाट उनीहरूलाई नेपाल ल्याउने तयारी भएको हो।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गएको सोमबार अचानक सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किँदा एअरपोर्टमा आइसकेका २६२ जना नेपालीहरु त्यहिँ अलपत्र परेका थिए।
यसरी नेपालहरु अलपत्र परेपछि त्यसको व्यापक आलोचना भएको थियो। आलोचना र विरोध भएपछि सरकारले विशेष अनुमति दिएको हो।
सीसीएमसीले नेपालमा कोरोनाको संक्रमण बढिरहेको र विदेशबाट फर्किनेहरुका लागि आवश्यक क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै सरकारलाई उडानहरु रद्द गर्न सिफारिस गरेको थियो।
कम्पनीबाट फाइनल आउट भएर विमानस्थल पुगेका उनीहरुको फर्केर जाने ठाउँ थिएन। उनीहरु सबैजना आबुधाबीमा रहेको एडभान्स सिल्भर स्टार कम्पनीमा काम गर्थे। विगत ६ महिनादेखि कम्पनीको काम ठप्प भएपछि रोजगारविहीन भएका उनीहरुसँग पैसा समेत थिएन।
उनीहरु ८ जनासहित २६२ नेपाली ल्याउन दुबईको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको जहाज रित्तै काठमाडौं फर्केको थियो। जहाजले यात्रु नबोकी रित्तै फर्किने भएपछि आफ्नो बस्ने ठाउँ भएकाहरु भने विमानस्थलबाट फर्केका थिए। फर्किने विकल्प नभएका ८ जना भने विमानस्थलमै बसेका थिए।