काठमाडौंको सीतापाइलामा पवित्रा कार्कीलाई एसिड प्रहार गर्ने दुई ब्यक्तिलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
बिहीबार मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहले गएको साउन ८ गते पवित्रामाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हाे।
आजको थुनछेक बहसमा पीडित कार्कीको तर्फबाट १ सय जना कानुन ब्यवसायीले वकालतनामा पेश गरे पनि राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौला लगायत १० जनाले बहस गरेका थिए। सरकारी वकिल चपला पोखरेलले पनि बहस गरेकी थिइन्।
उपचारका लागि राहतकोषबाट २ लाख तुरुन्त उपलब्ध गराउन आदेश
अदालतले एसिड प्रहारमा परेकी कार्कीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ।
यसअघि एसिड प्रहार गर्नेहरुलाई अदालतले पुर्पक्षमा पठाउँथ्यो। क्षतिपूर्ति दिए पनि मुद्दा फैसलापछि मात्र दिने नजीर थियो।
तर यो पटक प्रारम्भिक सुनुवाइमै अदालतले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। प्रारम्भिक सुनुवाइमै राहतकोषबाट रकम दिने आदेशले पीडितलाई उपचारमा सहयोग पुगेको छ भने न्याय पाएको अनुभूति पनि भएको अधिवक्ता राधिका खतिवडाले बताइन्।
यस्ताे थियाे घटना
युवतीमाथि एसिड प्रहार घटनाका योजनाकार मोहम्मद आलमले पीडित ओखलढुङ्गाकी २२ वर्षीया कार्कीलाई तीन महिनादेखि पछ्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियाे।
प्रहरीका अनुसार पीडित युवती करीव ३ वर्षअघि आलमकै कारखानामा काम गर्थिन्। त्यो भन्दा पहिले उक्त कारखानामा पीडित युवतीको दिदी काम गर्थिन्, बहिनी बेरोजगार भएपछि दिदीकै माध्यमबाट ती युवती आलमको कारखानामा काम गर्न थालेकी थिइन्।
कारखानामा काम गर्न थालेको एक महिनापछि युवतीले काठमाडौंकै पाँच तारे होटल हायातमा काम पाएकाले आलमको कारखाना छाडिन्।
पछि युवतीले काम छोडिपछि बिस्तारै टाढिन थालिन्। तर आलम पछि लागीराहे लामो समयसम्म युवतीले वास्ता नगरेपछि आवेशमा आएर आलमले एसिड हानेका थिए।
अनुसन्धान अधिकारीका अनुसार करीव ३ महिनादेखि पीडित युवतीले आलमको फोन उठाएकी थिइनन्। आलमले एकैदिन २९ पटकसम्म फोन गरेको थिए। यति गर्दा पनि युवतीले फोन नउठाएपछि उनले एक सातादेखि युवतीमाथि एसिड हान्ने योजना बनाएका थिए।
आलमले आफ्नो कारखानामा काम गर्ने मजदुरमार्फत एसिड प्रहार गरेका थिए।
युवतीले आलमसँग आफ्नो कुनै सम्वन्ध नभएको बताएपछि उनीहरू बिचको फोन रेकर्ड हेर्दा सम्बन्ध गहिरै भएको प्रहरी अनुसन्धानबाट खुलेको थियाे
घटना लगत्तै प्रहरीले युवतीलाई फोटो देखाउँदै यो ब्याक्तिको केही शंका छ भन्दै सोधेपछि युवतीले कुनै आशंका नभएको र कुनै सम्बन्ध नभएको बताएकी थिइन्।
एसिड प्रहार गर्ने आलम र मुन्नालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले घटना भएकै दिन पक्राउ गर्न सफल भएको थियो।