नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदललाई नेकपा सचिवालय बैठकले अनुमोदन गरेको छ । 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमतिको खाका बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णयलाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

कार्यदल गठन गरेकोमा सचिवालय बैठकले अध्यक्षद्वयलाई धन्यवाद पनि दिएको छ।

'संकटको निकासका निम्ति भैरहेको छलफललाई टुंगोमा पुर्‍याउन अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न पहल गर्नुभयो, यसलाई बैठकले सकारात्मक रूपमा लिँदै यसका निम्ति धन्यवाद दिएको छ,' प्रवक्ता श्रेष्ठले भने । 
कार्यदललाई छिटोभन्दा छिटो सुझाव पेश गर्न निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

कार्यदलमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र शंकर पोखरेल सदस्य छन् । 

कार्यदल गठन गर्ने दुई अध्यक्षको निर्णयलाई सचिवालयबाट अनुमोदन गराउन माधव नेपाल लगायतका नेताहरूले माग गरेका थिए । 

सहमति खोज्न गठित कार्यदलले शनिवारदेखि नै आफ्नो काम शुरू गरेको छ। 

सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति: : 2020-08-17 11:39:42

प्रतिकृया दिनुहोस्