भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि बिग्रिएको नेपाल–भारत सम्बन्धमा आज पहिलो ‘आइसब्रेक’ हुँदैछ।
नेपालले भारत सरकारको हर्कतका विरूद्ध कुटनीतिक नोट जारी गरेपनि रक्षा मन्त्री राजनाथ सिंहले लिपुलेक जाने बाटोको उद्घाटन एक्लौटी रूपमा गरेका थिए। यसले ७० वर्षयता दुबै देशको सम्बन्ध नराम्ररी बिग्रिएको थियो।
नेपालले पनि यसको जवाफ दिँदै लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सा संसदबाट सर्वसहमत पास गराएको थियो। भारतले नेपालको भू–भागलाई आफ्नो राजनीतिक नक्सामा समावेश गराएपछि थुप्रै पल्ट नेपालले कुटनीतिक तवरमा वार्ता गर्न खोजेको थियो।
तर, भारतले कोरोना महामारीको बहाना बनाउँदै वार्ता गर्न अस्विकार गरेको थियो।
तर, अहिले अमेरिकाभन्दा पनि बढी संक्रमित भारतमा देखिरहेको बेला र दैनिक ९०० मानिस कोरोनाका कारण मरिरहेको बेला भारतीय सरकार नेपालसँग कुटनीतिक वार्तामा बस्न सकारात्मक देखिएको हो।
१५ अगस्टमा भारतको ७४ औं स्वतन्त्रता दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर शुभकामना दिएका थिए।
यसपछि दुबै नेताबीच आपसी सहयोग र विभिन्न मुद्धामा कुराकानी भएको प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले जानकारी दिएका थिए।
दुई प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको दुई दिनपछि आज विदेश मन्त्रालयका सचिव शंकर दास वैरागी र भारतीय राजदूत विनय मोहन क्वात्राबीच वार्ता हुन लागेको हो।
दुई देशका प्रतिनिधि ६ महिनापछि एकअर्कालाई भेट्न लागेको हो।
सीमा विवादको विषयलाई लिएर भारतले अनुदार व्यवहार देखाएपछि नेपालले पनि विभिन्न च्यानलबाट वार्ताका लागि आएको प्रस्ताव अस्विकार गरेको थियो।