‘दैलेखी बा’ (भिडियाे)

 कथा–व्यथा–३  

बाजे तपाईँको नाम के हो? शुरु मै मैले सोधेँ। ती बृद्धले उत्तर दिएनन्। फिसिक्क हाँसे मात्र। मुख नजिक पार्दै फेरि सोधेँ? हजुरको नाम। फेरि उसैगरी मुस्कुराए। उनी मुस्कुराउँदा, खिइसकेका दाँत प्रष्टै देखिए। चाउरी परेको अनुहार झन् खुम्चियो। बाजे त झन् हिरो पो देखिए। उत्तर पाउँन सकिन। तेस्रो पटक भने, उत्तर आयो,उनीबाट होइन। नजिकै रहेका अर्का व्यक्तिबाट, उहाँको नाम ‘दैलेखी बा’ हो, ती व्यक्ति बोले। ‘दैलेखी बा’ मैले आश्चर्य प्रकट गर्दै भने।

‘हो हामी उहाँलाई ‘दैलेखी बा’ भन्छौ। यहाँको सबै भन्दा जेष्ठ सदस्य पनि उहाँ नै हुनुहुन्छ। एक वर्षअघि उहाँ दैलेखबाट यहाँ आउनु भएको हो । उहाँलाई आफ्नो विषयमा केही पनि थाहा छैन। नाम, ठेगाना, उमेर केही पनि। त्यसैले हामी सबै जना ‘दैलेखी बा’ नै भन्छाैं।’

बाँकेको कोहलपुरमा रहेको नील सागर वृद्धाश्रम तथा असहाय सेवा केन्द्रमा भएको वार्तालाप हो यो। 

मानिसलाई आफ्नो नाम अति प्रिय लाग्छ। कहीँ कतै आफ्नो नाम देख्ने बित्तिकै मानिस अति खुसी हुन्छ। अरुले आफ्नो नामको चर्चा गरिदियो भने त झन् के चाहियो र? धेरै मान्छेमा आफ्नो नामसँग भोक हुन्छ। चर्चा र तारिफको भोक। यो मानवीय स्वाभाव हो। मानिसको नाम सामान्य हो पनि, होइन पनि। त्यो भन्दा पनि नाम व्यक्तिको पहिचान हो। तर यी ‘दैलेखी बा’सँग आफ्नो भन्ने केही पनि छैन। र पनि नाम चाँहि छ उनीसँग। यो उनलाई आमा र माटोले दिएको नाम होइन। नीलसागरले दिएको नाम हो। जुन दैलेखबाट नीलसागरमा आएकोले जुराइएको हो। कर्णाली र प्रदेश पाँचका जिल्लामा समाजसेवा गरिरहेको नीलसागरले सयाैंलाई नाम, र माम दुबै दिइरहेको छ।
     
सेतै फुलेको कपाल, चाउरी परेको अनुहार, काँधमा गलबन्दी बेरेका, ६० काटेका वृद्ध। जसको जीवन आश्रममा बितिरहेको छ। 

उनकाे जन्मघर जाजरकोट हो। हुर्केबढेको चाँहि दैलेख। आश्रममा दैलेखबाट ल्याइएकोले कूनै शंका भएन। जन्म जाजरकोट नै हो भन्ने कुनै पनि आधिकारिक प्रमाण स्वंयम उनीसँग छैन। नाम, थर वंश र नागरिकता। आफूलाई जन्म दिने आमा, बुबा, दाजु भाई आफन्तबारे केही पनि थाहा छैन।
 
‘आधा जिन्दगी दैलेखमै काटे। एक वर्ष भयो यहाँ आएको। घर भन्दा धेरै राम्रो छ यहाँ। सबैले माया गर्छन्। म त खुसी छु,’ खुसी हुँदै उनले भने। 

आमाबुबाको माया कस्तो हुन्छ थाहा छैन। आश्रममा छोराछोरीबाट पाउने माया पाइरहेका छन्। बाबाले छोरालाई दिने माया कति आवश्यक हुन्छ। उनको बोली भन्दा मन्द मुस्कानले बढी दिन्छ। जुन नीलसागरले दिइरहेको छ। लाग्छ, मुस्कान उनको सुन्दरता हो। त्यसैले उनलाई केही नभएर पनि सबथोक दिइरहेको छ। संसारकै सबै भन्दा खुसी मान्छे लाग्छन् उनी। परिचयको नाममा नामै छैन। र पनि उनी असहाय,साहारा विहीन र टुहुरो  नागरिक भने हुन्।

‘कसैको मायाले यति फरक पार्दछ जिन्दगीमा’  प्रस्तुत गीतको अंशले भने झैं। उनको जीवनमा फरक–फरक पात्रले फरक पारेका छन्। जन्म जाजरकोट (उनका अनुसार)। वर्षाैं। दैलेखमा कर्म। बुढेसकालमा बाँकेमा आश्रय जीवन।
 
एक वर्ष पहिले उनलाई एक दम्पतीले यहाँ ल्याएका थिए। उनीहरुलाई ‘दैलेखी बा’ दिदी भिना भन्छन्। दैलेखमा आफूलाई दिदी भिनाले नै पालेको उनले बताए। 

बुढेसकालमा पाल्न समस्या भएको भन्दै उनी यहाँ पु¥याइएका हुन्। आश्रमका संयोजक रामचन्द्र पराजुली उनमा एक वर्ष पहिले र अहिले निकै परिवर्तन आएको बताउँछन्। ‘जहाँ उनीहरुले पारिवारिक वातावरणमा स्याहार गरिन्छ। यहाँ त नाच्न पाइन्छ, गीत बजाउछन्, नुहाउँछु, निकै राम्रो छ। अब अन्त नजाने यही बस्ने।’ कुराकानीको बिट मार्दै गर्दा बिएल नेपाली सेवासँग उनले भने। 

अहिले आश्रममा भारतीय नागरिक सहित १५ जना बस्छन्। ‘दैलेखी बा’ संसारमा आफ्नो भन्ने कोही नभएर पनि यदि धेरै खुसीका साथ जिन्दगी बाँचिरहेका छन्। उखानै छ नी, ‘जसले हाँस्न जानेको छ उसले बाँच्न जानेको हुन्छ।’


 कथा–व्यथा–२  संघषर्षकाे अर्काे नाम जीवन

कथा–व्यथा–१ ‘मरौं काल आउँदैन, बाँच्न मनै छैन’

 

प्रकाशित मिति: : 2020-08-12 11:35:00

प्रतिकृया दिनुहोस्