बाँकेमा कोरोना कहर: कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया पठाइयो

बाँकेमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरुलाई अन्य जिल्लामा पठाइएको छ। 

कैदीबन्दीलाई कोरोना संक्रमण देखिएपछि व्यवस्थापनको लागि कारागारलाई नै आइसोलेसन सेन्टर बनाउने उद्देश्यले उनीहरुलाई अन्य जिल्ला पठाइएको हो।    

कारागारको क्षमता भन्दा बढी कैदीबन्दी र थुनुवा रहेको बाँकेमा उनीहरुलाई राख्न असहज भएपनि बर्दिया र दैलेख पठाइएको कारागारका जेलर देबेन्द्रमान श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
 
उनका अनुसार सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँगको समन्वयमा महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा स्थान्तरण गरिएको छ। 

विभिन्न अपराध कसुरमा कैद भुक्तान गरिरहेका महिला कैदीबन्दी र उनका आश्रीत नाबालक एक गरि ३१ जना दैलेख कारागार पठाइएको जेलर श्रेष्ठले जानकारी दिए।  

यस्तै १५ थुनुवा र एक नाबालक आश्रीत गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा स्थानान्त्रण गरिएको छ।

बाँके कारागारको अहिले क्षमता २ सय ५० पुरुष र ५० जना महिला गरी ३ सयको कैदीबन्दीको क्षमता छ। तर हाल कारागारमा दोब्बर बढी ७ सय ७० पुरुष र ४५ महिला र दुई आश्रित नाबलक छन्।  

सबै गरी ८ सय १७ जना कैदीबन्दी र थुनुवा रहेको उनको भनाइ छ।   बाँकेमा सात जना कैदीबन्दीहरुमा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-08-11 21:37:21

प्रतिकृया दिनुहोस्