गल्याङ नगर अस्पताल पुनः सञ्चालनमा

गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। 

अस्पतालका प्रमुख थानपति न्यौपानेका अनुसार नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने सम्भावनाका कारण बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको होो।
 
बन्द अस्पतालका आकस्मिक तथा बहिरङ्गसहितका सबै सेवा सञ्चालनमा ल्याइएको बताउँदै उनले भने, ‘कोरोनाको सङ्क्रमण देखिएका बिरामीको उपचारका लागि आइसोलेसन कक्ष र अन्य बिरामी प्रवेश गर्ने प्रवेशद्वार छुट्टाछुट्टै निर्माण गरेर अस्पतालको सेवा पुनःसञ्चालन गरेका छौँ।’

अब अस्पतालमा उपचार गर्न आउँदा कुनै पनि डर मान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘सामान्य उपचार गर्न पनि टाढा धाउनुपर्ने बाध्यता भएका कारण अस्पतालको नियमित सेवा शुरु गरेका हौँ’ उनले भने।

उक्त अस्पतालको आइसोलेसनमा हालसम्म ५८ जना कोरोना रोगलाई जितेर घर फर्केको तथा अहिले १० सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-11 13:19:42

प्रतिकृया दिनुहोस्