अस्ट्रेलियाको देशभित्रको सीमा डिसेम्बरसम्म बन्द, एउटा राज्यबाट अर्को राज्य जान नपाउने

अस्ट्रेलियामा फैलिँदो कोरोना भाइरस संक्रमणका कारण यस वर्षको डिसेम्बरसम्म राज्यबीचको सीमा नखोल्ने निर्णय सरकारले गरेको छ। 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस कुराको जानकारी दिँदै भनेका छन्, ‘यो वर्षको क्रिसमससम्म राज्यबीचको बोर्डर खोल्न असमर्थ छौं।’ प्रधानमन्त्रीको यो भनाईसँगै अब डिसेम्बरसम्म एउटा राज्यका नागरिक अर्को राज्यमा जान नपाउने भएका छन्। 

अस्ट्रेलियाले पहिले कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको थियो। तर, पछिल्लो समय संक्रमणको संख्या बढ्दो छ। गत २४ घण्टामै यहाँ ३ सय २३ संक्रमित फेला परेका छन्। 

हालसम्म अस्ट्रेलियामा २१ हजार ३ सय ९७ संक्रमित फेला परेका छन्। यहाँ ३ सय १३ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा १८ जनाको निधन भएको थियो। 

अस्ट्रेलियाले भिक्टोरीलगायत केही शहरमा कोरोनाको संख्या अत्याधिक देखेपछि राज्यको सीमा बन्द गरेको थियो।

प्रकाशित मिति: : 2020-08-11 08:08:16

प्रतिकृया दिनुहोस्