ह्वाइट हाउस नजिकै गोली प्रहार, एकजनालाई अस्पताल लगियाे

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली प्रहार भएकाे छ।

 ह्वाइट हाउसमा सोमबारको भएको नियमित पत्रकार सम्मेलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कसैमाथि गाेली प्रहार भएकाे बताएका हुन्।

गुप्तचर निकयाका एजेन्टले विशेष जानकारी दिएपछि उनी सम्मेलनलाई बिचैमा छाडेर आकश्मिक रुपमा त्यहाँबाट बाहिरिएका थिए।

उनको सुरक्षामा खटिएका ती एजेन्ट पत्रकारको प्रश्नको जवाफ दिइरहेका बेला स्टेजमा गएर ट्रम्पको कानमा गाेली प्रहार भएकाे सूचना दिएका थिए। लगत्तै ट्रम्प भित्र पसेका थिए।

ट्रम्पले ‘ओहो’ र ‘के भइरहेको छ’ भनेको सुनिएको छ। त्यसपछि उनी ब्रिफिङ्ग स्थलबाट बाहिरिए। गाेली प्रहार हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो।

घटनापछि ट्रम्पले पत्रकारलाई प्रतिक्रिया दिँदै अवस्था अहिले नियन्त्रणमा रहेको बताएका छन्।

‘अहिले अवस्था नियन्त्रणमा छ। एकजनालाई अस्पताल लगिएको छ। तर ती व्यक्तिको अवस्था मलाई थाहा छैन,’ ट्रम्पले भने।

झण्डै ९ मिनेटपछि पोडियममा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्धुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई आएकाे बताए।

घटना असामान्य भएकाे गुप्तचर निकायले बताएकाे छ। तर छानबिन गर्नु पर्ने ट्रम्पले बताए।

गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2020-08-11 06:48:11

प्रतिकृया दिनुहोस्