लामो दुरीको यातायात र हवाई उडान भदौ १५ गतेसम्म नखुल्ने

सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो।

साउन ६ गते लकडाउन अन्त्यको घोषणसँगै सरकारले लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। 

तर कोरोना जोखिम थप बढेपछि पुनः उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमासमेत रोक लगाउने निर्णय भएको छ।

यस्तै, बैठकले शिक्षण संस्थाको पठनपाठन अर्को निर्णय नभएसम्मका लागि बन्द नै गर्ने निर्णय गरेको छ। यसअघिको निर्णय अनुसार बन्द रहेका सेवाहरु बन्द नै रहने निर्णय पनि बैठकले गरेको छ। 

यता बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ।

तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्णय पनि भएको छ।

यस्तै बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरन नदिने निर्णय गरेको हो ।

कार्यालयमा पनि पचास प्रतिशत कार्मचारी राखेर काम गर्ने निर्णय भएको छ। काठमाडौं आउने सबै नाका बन्द गरिने भएको छ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार काठमाडौंमा भेला-समारोह र जात्रा-मेलाहरूमा पूर्णत रोक लगाइने भएको छ।

सरकारले यसअघि गरेको निर्णयअनुसार भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन सकिने थियो । तर सोमबारको निर्णयअनुसार भदौ १ गतेबाट गर्ने भनिएका सबै काम भदौ मसान्तसम्म लम्ब्याइएको छ ।

बैठकले नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गरेको छ। 

प्रकाशित मिति: : 2020-08-10 21:21:39

प्रतिकृया दिनुहोस्