कोरोना भाइरसको महामारीविरुद्ध सरकारी अभियान प्रभावकारी हुनुपर्ने मागसहित सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईशान अधिकारी ईः ले २३ दिनका दिन अनशन तोडेका छन्।
आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा पुगेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी खुवाएर अनशन तोडाएका हुन्।
सरकारले परीक्षणको दायरा फराकिले बनाएको तथा संक्रमण नियन्त्रणका लागि पहल प्रभावकारी बन्न थालेको निष्कर्षसहित ईः ले अनशन तोडेकाे अभियानकर्ताहरुले बताएका छन्।
स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। जसमा स्वास्थ्यकर्मीलाई पीपीई अभाव भएमा मन्त्रालयले तत्काल उपलब्ध गराउने, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा हालसम्म भएको खर्च विवरण चाँडै सार्वजनिक गर्नेसहितका सहमति भएको हाे।
‘इनफ इज इनफ’ का अभियन्ता यसअघि पनि अनशन बसेका थिए। पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए।
यसअघिको अनशन पनि १२ बुँदे सहमति भएपछि तोडिएको थियो। सत्याग्रहको १२ औँ दिन असार २२ गते सरकारसँग सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए।
तर सो सहमति कार्यान्वयन नभएपछि ईः पुनः अनशनमा बसेका थिए। स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए। त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिएका थिए।