प्रधानमन्त्री ओली र सल्लाहकार टीमले बालुवाटारमै दिए पीसीआर परीक्षणका लागि 'स्वाब'  

बिएल संवाददाता

काठमाडौै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको टीमले कोरोना भाइरसको परीक्षण गरेका छन् । प्रधानमन्त्री ओली र उहाँको सम्पर्कमा रहने सल्लाहकार समूहले शुक्रबार बालुवाटारमै पीसीआर परीक्षणका लागि स्वाब दिएका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, बालुवाटारमा पीसीआर परीक्षण गर्नेहरुमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिवहरु ईन्द्र भण्डारी, राजेश बज्राचार्यसहित रहेका छन् । 

केही दिनअघि सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुसँग प्रधानमन्त्रीले भेटघाट र छलफल गरेका थिए जसमा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव पनि सहभागी थिए । उनमा तीन दिनअघि कोरोना संक्रमण देखिएको छ ।

भेटघाटपछि खिचिएको सामूहिक तस्विरमा प्रधानमन्त्रीनजिकै प्रदेश २ का मन्त्री यादव पनि नजिकै देखिएका छन् । तस्वीरमा प्रधानमन्त्री ओली र मन्त्री यादव दुबैले मास्क लगाएका छैन । उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए ।   

पीसीआर परीक्षणपछि प्रधानमन्त्री ओलीसहित उनको समूह शुक्रबार बालुवाटारमै रहेको छ । 

प्रकाशित मिति: : 2020-08-07 14:32:57

प्रतिकृया दिनुहोस्