चितवनमा फेरि एक व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु, शव भरतपुर ल्याइदै

चितवनमा थप एक जना व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका–६ मा घर बनाउने ठेकेदारले ल्याएका बाराका एक व्यक्तिको गयराति मृत्यु भएको हो ।

ती व्यक्ति घर बनाउने मिस्त्री हुन्। बाराको कलैया नगरपालिका–२१ का ३६ ती व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको खैरहनी नगरपालिका वडा नंं.६ का वडाध्यक्ष रामशरण पाण्डेले  जानकारी दिए।

मृतकसँगै अन्य पाँच जना पनि बाराबाटै आएका थिए । ती व्यक्तिहरुलाई ठेकेदारले कम्पनीको कोठा भाडामा लिएर क्वारेन्टिन भनेर राखेका थिए। ठेकेदारलाई पटक–पटक बाहिरबाट कामदार नल्याउन भन्दा भन्दै पनि जबरजस्ती ल्याएको वडाध्यक्ष पाण्डेको भनाई छ।

मृतक व्यक्तिको शव भरतपुर अस्पताल पठाउन लागिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए।

उनको भरतपुरमै स्वाब संकलन गरी कोरोना परीक्षण गरिने छ। यस्तै मृतकसंगै रहेका अन्य पाँच जनाको पनि स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए।

यसअघि कालिका नगरपालिका–८ का एक पुरुषको पनि होम क्वारेन्टिनमै मृत्यु भएको थियो। भारतबाट आएका ती व्यक्तिको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रकाशित मिति: : 2020-08-04 10:07:21

प्रतिकृया दिनुहोस्