सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ को पहिरोमा पुरिएकाहरुमध्ये ७ जनाको शव फेला परेको छ। मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ।
सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ। उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ।
पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए।
पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियाे। तर उपचार हुन नसकेपछि उनलाई धुलिखेल पठाइएकाे छ।
अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन्। भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन।
अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन्।